बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण २६, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २६,काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा भएको छ । दशैंपछि छायांकन सुरु भएर चैत २८ मा रिलिज हुने फिल्ममा अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । यसपटक क्रिस्टिना गुरुङ ‘गीत’ बन्दैछिन् । २७ सय युवतीलाई उछिन्दै उनी ‘गीत’ को क्यारेक्टरका लागि छानिएकी थिइन् ।

प्रदीप र क्रिस्टिनासँगै मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेनले पनि फिल्ममा अभिनय गर्दैछन् । चाँडै वर्कशप सुरु हुने यो फिल्ममा थप केही कलाकारको पनि प्रवेश भएको छ । लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा फिल्ममा कलाकारको रुपमा भित्रिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

अब फिल्मका लागि कलाकार छनोट प्रक्रिया सकिएको उनको भनाई छ । ‘फिल्मको कथामा हरेक पात्रको आ(आफ्नै महत्त्व छ । त्यसैले हामीले फिल्मका लागि पात्र सुहाउँदो कलाकार छनोट गरेका छौं’, उनले भने । निर्माण टिम चाँडै अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने तयारीमा छ । लामो समय फिल्ममा उनको प्रवेशलाई लिएर अन्योलता थियो ।

नाम नै ब्रान्ड बनिसकेको ‘प्रेमगीत’ को तेस्रो सिरिजलाई उत्कृष्ट बनाउन कुनै कञ्जुस्याँई नगर्ने निर्माता सेन बताउँछन् । उनी फिल्ममा भिलेनको भूमिकामा देखिँदैछन् । फिल्मको अधिकांश सिन भब्य सेट खडा गरेर खिचिँदैछ । केही दिनदेखि फिल्मका प्रमुख कलाकारहरु घोडा सवारी सिकिरहेका छन् । २ वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको हो ।

छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा बाल कलाकार अनुभव रेग्मीले बाल्यकालको प्रदीप खड्का उर्फ ‘प्रेम’ को भूमिका निभाउँदैछन् । पुराना अभिनेता शिव श्रेष्ठको राजाको भूमिका छ । उनका दुई छोराको भूमिका प्रदीप र मनिषले निर्वाहा गर्दैछन् । ‘एक निषेधित प्रेमकथा’ भनिएको फिल्मको निर्माण लागत ३ करोड अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस