जेठ १ धनगढी । प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५/७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा जनताको विकासप्रतिको चाहना र सरकारको नीतिबीच तादम्यता कायम गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने, पूर्वाधारको विकास, प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य समाहित छन् ।
यसअघि बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले प्रदेशमा केही दिनअघि उत्पन्न भीषण हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट पुगेको क्षतिको विवरण संकलन गरी पीडितलाई राहतको व्यवस्था गर्न माग गरे ।
सदस्यहरूले हावाहुरीमा परी मृत्यु भएकी कैलालीकी चारुमति बुढाका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेका उपचारमा सहयोग गर्नुपर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।
उनीहरूले देशमा नाकाबन्दी लगाउने पक्षलाई नागरिक अभिनन्दन गरिएको र भारतीय सांसद किर्ती आजादले जनकपुरलाई भारतमा मिसाउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।