असार २४,काठमाडौँ । अफ्रिकी मुलुक मरिससले संस्थागत रुपमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । श्रम तथा रोजगार मन्त्रालयसँग मोरिससले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको हो ।
अहिले पनि मरिससमा व्यक्तिगत प्रयासमा नै नेपाली कामदार रोजगारीका लागि पुग्ने गरेका छन् । हाल नेपाली धेरै जाने मलेसिया र साउदीमा रोजगारीको संकट छ । त्यसैकारण सरकारले कामदारलाई श्रम गन्तब्यहरुमा विकल्प पनि दिन चाहेको छ । त्यसका लागि एक कार्यदलले काम गर्दै गर्दा मोरिससले सरकारी तहबाटै समझदारी गरेर कामदार लैजान इच्छा देखाएको हो ।
उसले वर्षमा कतिसम्म कामदार लैजाने भन्नेबारे जानकारी गराएको छैन । तर, वर्षमा २० हजारभन्दा बढी काकदार लैजान सकिने संकेत सो मुलुकले गरेको छ ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अहिले पोर्चुगल र क्यानडासँग पनि नेपाली कामदारलाई अवसर दिनेबारे छलफल सुरु भएको छ । पोर्चुगलले सकारात्मक जवाफ दिएकाले केही समयभित्रै अर्को चरणमा छलफल गरेर टुंग्याउने योजना मन्त्रालयको छ ।
‘क्यानडासँग पनि हामी छलफलमा छौं,’ ती अधिकारीले भने,’२०२२ पछि कतारमा पनि रोजगारीको अवस्था अहिले जस्तो रहँदैन । त्यसैले अहिलेदेखि नै राम्रो वैकल्पिक श्रम गन्तब्य खोज्ने तयारी छ ।’