नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदै

भाद्र ४, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचाैँ बैठक बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री सुव्रमन्यम् जयशंकरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने जनाइएको छ । बैठकमा सहभागी हुनका लागि भारतका विदेशमन्त्री नेपाल आउँदै छन् ।

बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल बिस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुनेछ ।

सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । यसअघि सन् २०१६ को अक्टोबरमा नयाँदिल्लीमा आयोगको चौथो बैठक भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भारतका विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गर्ने तयारी पनि छ।

बैठक बिहीबार समापन हुनेछ । भारतीय विदेशमन्त्री जयशंकर बैठक समापन भएसँगै बिहीबार नै स्वदेश फर्किने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply