ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न नेपाल र भारतका जनप्रतिनिधि सहमत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ४, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाडौँ । ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्नका लागि नेपाल र भारतका जनप्रतिनिधि सहमत भएका छन्।

कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले मंगलबार आयोजना गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका सञ्चालन गर्न सहमत भएका हुन्।

दुवै देशको साझा संस्कृति, परम्परा र संस्कार भएकाले दुवै क्षेत्र एकापसमा जोडिनु पर्नेमा उनीहरुले जोड दिए। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले भारतको उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनास भएकाले नाका खोल्नका लागि पहल गरिने बताए। ‘नाका खुले यस क्षेत्रको विकासमा टेवा पुग्छ’, उनले भने।

भारतको उत्तराखण्डका विधायक हरिश भट्टले दुवै देशको धर्म, संस्कृति एउटै भएकाले यसलाई एकापसमा जोड्नका लागि टनकपुर नाका खोल्नका लागि पहल गर्ने बताए।

विधानसभा सदस्य कैैलाश गहोतडीले व्यापार व्यवसायसँगै आर्थिक समृद्धि ल्याउन नाका सञ्चालन गर्नुपर्नेमा जोड दिए। सिद्धनाथ मन्दिर समितिका अध्यक्ष वीरबहादुर खड्काले धार्मिक पर्यटन र व्यवसायका लागि ब्रम्हदेव–टनकपुर नाका खाेल्नु पर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सदस्य माधव जोशीले ब्रम्हदेव–टनकपुर लिङ्क रोड निर्माण भएपनि भारतले आफ्नो क्षेत्रमा सडक निर्माण नभएकामा चिन्ता व्यक्त गरे।

धार्मिक पर्यटनलाई बढावा दिन नाका खोल्नुपर्ने आवश्यक भएको भारतको पूर्णागिरि मन्दिर समितिका अध्यक्ष भुवन पाण्डेयले बताए। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले औद्योगिक विकासका लागि टनकपुर नाका विस्तार हुनुपर्ने बताए।

ब्रम्हदेब–टनकपुर नाका विस्तारको पहल गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सदस्य माधव जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। रासस

ताजा अपडेट

खोजी गर्नुहोस