गगनको गर्जन: ‘सिंहदरबार घेर्छौं’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र १३, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले ललितपुरस्थित सडक विभागअगाडि धर्ना दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–४ बाट निर्वाचित थापा शुक्रबार प्रदेश नम्बर–३ का सांसद र स्थानीयसहित धर्नाका लागि ललितपुरस्थित सडक विभाग पुगेका हुन् ।

काठमाडौंको कपन र चाबहिल सडकको ठेक्का अवधि सकिँदा पनि नबनाइएको भन्दै थापा धर्नामा उत्रेका हुन् ।

थापाको निर्वाचन क्षेत्रमा पर्ने ती दुवै सडकको जिम्मेवारी भने सैलुङ कन्स्ट्रक्सनले पाएको छ । सो क्षेत्रका १२ वटा सडक अलपत्र पारिएको थापाले बताए ।

स्थानीय नागरिकले चाबहिलमै धर्ना दिन भनेपनि आफू सांकेतिक विरोधका लागि सडक विभाग आएको भन्दै उनले एक हप्ताभित्र काम नभए सिंहदरबारमै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यकक्षमा धर्ना दिने चेतावनी दिए ।

चाबहिल, कपनलगायत काठमाडौं–४ का सडक निर्माणको कामको समयावधि गत वैशाखमै सकिएको जानकारी दिँदै थापाले यस अवधिमा जम्मा २० प्रतिशतमात्रै काम भएको बताए ।

काम नगर्ने यही कम्पनीलाई फेरि दुई वर्षको म्याद थप्न लागेकामा उनको आपत्ति थियो ।

यसअघि, थापाले क्षेत्र नम्बर–४ का सडक अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग गर्दै सडक विभागमा पत्र पनि पठाएका थिए ।

‘कारबाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजनाको काम सडक अलपत्र पार्ने कम्पनीलाई दिनुको कारण के हो ?’ भन्दै उनले प्रश्न गरे ।

काम नगर्ने त्यही ठेकेदारलाई फेरि खानेपानीको काम दिइएकोमा उनले आपत्ति जनाए ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी सैलुङ कन्स्ट्रक्सनका मालिक हुन् । यो कन्स्ट्रक्सनले त्रिपुरेश्वर र नगरकोट जाने सडक पनि अलपत्र छाडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस