धरानमा उपनिर्वाचनको सरगर्मी : कांग्रेस नेता अशोक राई भन्छन-‘पार्टीले विश्वास गरे चुनावी मैदानमा आउन तयार छु’

नेपाली कांग्रेस धरानका नेता अशोक अविरल राई । पार्टीगत राजनीतिमा धरानवासी यो नामसँग अपरिचित सायदै होलान् । स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म अशोक अविरल राई एउटा चीर परिचित नाम हो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनसँगै नेपाल विद्यार्थी सँघबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका राई काठमाण्डौको शिक्षा सदन माविमा कक्षा ९ मा पढ्दापढ्दै गर्दा बलबहादुर केसीको नेतृत्वमा नेपाल विद्यार्थी संघले गरेको आन्दोलमा सक्रिय भए ।

विद्यार्थी आन्दोलन लगत्तै वि.सं. २०३६ सालको जनमत संग्रह घोषणा भएपछि उनि विद्यार्थीहरुको मोर्चा बनाएर बहुदलको पक्षमा प्रचार प्रसारमा जुटे । वि.सं. २०३७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर जनकपुर महाधिवेशनमा पुगे । उनी नेपाली काँग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधी, जिताऔ अभियानमा लागे र निधि जनकपुर महाधिवेशनबाट नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचित भए । एसएलसी उत्तीर्ण भएपछि उनि नेपाल ल क्याम्पस पुगे र नेपाल विद्यार्थी संघको क्याम्पस इकाइको सचिवमा निर्वाचित भए । त्यसबेला राजधानीका धेरै क्याम्पसहरुमा नेपाल विद्यार्थी संघले जितेको थियो । शंकरदेव क्याम्पसबाट धु्व्र वाग्ले, पदम कन्या क्याम्पसबाट मिना पाण्डे, त्रिभुवन युनिभर्सिटीबाट ज्ञानेन्द्रबहादुर कार्कीलगायतले जितेको राई स्मरण गर्छन ।

नेपाल विद्यार्थी संघमा रहँदा प्रजाान्त्रिक आन्दोलनमा उनको भूमिका सदैव अग्रगामी हुने गर्दथ्यो । आन्दोलनमा उनको सक्रियता बढ्दै गएपछि राष्ट्रवादी विद्यार्थी मण्डलले आक्रमण गरेर उनको दाहिने हातसमेत भाँचिदिएका थिए । उनीमाथि आक्रमणको थप चेतावनी आएपछि नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह स्वंयम सतुंगल स्थित रमेशचन्द्र प्रधानको घरमा तीन महिना लुकाएका थिए । त्यसपछि उनी भागेर धरान आए । काठमाण्डौमा बस्न सक्ने अवस्था थिएन । धरान आएपछि उनले महेन्द्र वहुमुखी क्याम्पसमा विएल अध्ययन शुरु गरे। त्यसबेला उनले नेपाल विद्यार्थी संघको इकाई सचिव, जिल्ला सदस्य हुँदै पार्टीको क्षेत्रीय सदस्य, जिल्ला सदस्य समेतको जिम्मेवारी निर्वाह गरे । वि.सं. २०४२ सालको सत्याग्रह, २०४६ सालको जन आन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा समेत उनको नेतृत्वदायी भूमिका रहको थियो । पटक पटक प्रहरी हिरासत र जेल समेत परेका राईले यस भन्दा अगाडि कहिल्यै पदीय महत्वाकांक्षा देखाएनन् ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते विविध कारणले संघ, प्रदेश र स्थानीय निकायमा रिक्त रहेको पदमा निर्वाचन गराउने घोषणा गरेपछि राईले यस पटक धरान उपमहानगरपालिकको मेयरकोे प्रत्यासीको आकांक्षा राखेका छन । उनी भन्छिन योगदान र योग्यताको पार्टीले मुल्यांकन गर्नुपर्छ । समाज शास्त्रमा एमए उत्तीर्ण राईको पक्षमा यतिबेला धरानका प्रवुद्ध वर्गहरु, प्राध्ययापक, व्द्यिार्थीहरुले लविङ्ग नै शुरु गरिसकेका छन् ।

अत्यन्तै सरल, मिजासिला, हालसम्म कुनै पदीय आकांक्षा नदेखाएका भएका राईसँग यसपटक हामीले निर्वाचनमा पार्टीले दिने उमेद्वारी लगायतका विषयमा केन्दित रहेर वार्ता गरेका छौँ । उनीसंग अनलाईन केन्द्रले गरेको कुराकानी यस्तो छ ।

यो उपनिर्वाचनमा धरानमा पनि प्रमुखको रिक्त स्थानमा निर्वाचन हुँदैछ । के तपाईले प्रत्यासीका लागि ईच्छा मात्रै गर्नुभएको की मैदानमै आउने सोच बनाउनु भएको ?

–हो म यसपटक इच्छुक छु । सोचमात्रै होईन नेताहरुले विश्वास गरे म मैदानमै आउन तयार भएर लागेको हु । मैले धेरै लामो समयपछि आकांक्षा राखेको छु । यसमा मैले मलाई सहयोग गर्ने आश्वासन पाएको छु । मैले टिकट पाएँ भने मलाई आफ्नो पार्टीका साथीहरुको मात्र नभएर अन्य पार्टीका र स्वतन्त्र व्यक्तिले पनि मलाई सघाउनु हुन्छ । म पुरानो भएको हिसाबले मप्रति सबैको सेम्पेथी छ ।

तपाई यति पुरानो भएर पनि प्रतिस्पर्धामा अगाडि आउन किन सक्नु भएन ?

–पुरानो भएर पनि अगाडि आउन नसक्नुको कारणचाहिँ पार्टीभित्रको लविङ्ग नै हो । म नेपाली काँग्रेसप्रति मात्र इमान्दार छु । लविङ्गप्रति मेरो मोह र विश्वास छैन । हामी आज कमजोर लविङ्गले गर्दा नै भएका हौ । पुरानो मान्छेको मुल्यांकन गर्ने पद्धति पार्टीभित्र नभएर पनि हो । जसले चाकडी गर्छ, छट्याई फट्याइ गर्छ, जनाधार नभएता पनि नेताहरुको नजिक हुन्छ त्यसले मात्र अवसर पाउने संस्कार छ ।

चाकडीको कुरा गर्नुभयो, यसमा त नेतृत्व सचेत हुनपर्छ नी, नेतृत्वलाई के भन्नुहुन्छ ?

–अहिलेको अवस्थामा भन्ने हो भने अब नेतृत्वले विगतबाट पाठ सिक्नै पर्छ । सही मुल्यांकन, सक्षम,योग्यलाई पार्टीमा स्थान दिनुपर्छ ।

धरान २०१५ सालदेखिकै वामगढ भन्छन्। त्यसबेला देखि नै यहाँ वापपन्थीहरुले वर्चस्व जमाउँदै आएका छन् । यसलाई तोड्न तपाईसँग के भिजन छ ?

–वामगढ तोड्न मसँग धेरै भिजनहरु छन् । सबै कुरा यहँ बताउनु पनि उपयुक्त हुँदैन । यद्यपि म यहाँ केटकेटीदेखि हुर्किएको हुँ, सबैसँग म फेमिलियर छु । यसका अलावा म मा इमान्दारिता छ । आजसम्म कसैलाई भनेर विझाएको पनि छुइन र खाएर चिढ्याएको पनि छैन । म योग्य छु, पार्टीमा निरन्तर लागेको छु । धरान वडा.नं. १५ मा पहिला एउटा गाविस भवन थियो । घरहरु फाट्टफुट्ट थिए । त्यसबेलादेखि म सबैलाई चिन्छु । सबैसँग घुलमिल छु । सबैजना मेरो उमेद्वारीप्रति अर्थात पार्टीले प्रत्यासी बनाएमा उहाँलाई सघाउँछौ भन्नुहुन्छ । अर्को कुरा विपक्षी पार्टी एमाले (पूर्व) मा वितृष्णा बढेको मैले पाएको छु । उहाँहरुले समेत मलाई आश्वासन दिनुभएको छ सहयोग गर्ने । धरान नगरपालिकाले जनतामा जथाभावि कर थोपरेको छ, खानेपानी, बसस्टेन्ड, एयरपोर्टको कुरामा धराने जनतालाई गुमहराहमा राखेको छ । त्यसबाट नेकपाप्रति जनता आक्रोसित भएका छन् ।

बामकिल्लामा कांग्रेसमात्रै एक्लै मैदानमा आउछ की गठबन्धन बनाउने तयारी छ ?

खासगरी तपाईले भनेजस्तै धरानमा बाम गठबन्धनको राम्रो छ होला । तर समय अहिले उल्टिएको छ । सरकारको रवैयाले जनता नयाँ, दृढ र फ्रेस मान्छे चाहिरहेका छन । यसपाली बाम गठबन्धन मात्रै नभएर नेकपा हाम्रो मुख्य प्रतिस्पर्धी हुन्छ । त्यसैले हाम्रो पनि गठबन्धन नहोला भन्न सकिन्न । तर पार्टी केन्द्रले के निर्णय गर्छ भन्ने हो । हामीले पनि स्थानीय तवरमा विभिन्न पार्टीसंग छलफल सुचारु गर्नुपर्छ भन्ने सोचका छौँ । केही पार्टीले गठबन्धनको लागी हामीलाई ईच्छाइएका छन । यस विषयमा निर्णय हुनै बाँकी छ ।

तपाईलाई पार्टीले उमेद्वार बनाएमा तपाईको चुनावी एजेन्डा के हुन्छ ?

–चुनावी र्एजेन्डा नगरको विकास नै हो । नगरपालिकाभित्रको भ्रष्टाचार नियन्त्रण गरी विकासलाई प्राथमिकता दिने नै पहिलो एजेन्डा हुनेछ । खसगरी विभिन्न समयमा अरुले दिएका आश्वासन धेरै भएको छ ।

यसपटक पनि पार्टीले टिकट दिएन भने विद्रोह गर्नुहुन्छ ?

–म एउटा पार्टीको इमान्दार कार्यकर्ता हुँ । पार्टीले टिकट वितरणमा सही मुल्यांकन गरी दिए पुग्छ । विद्रोह नै गर्ने भन्ने कुरा हुँदैन तर अब पनि मेरो मुल्यांकन नगर्ने हो भने म माथि अन्याय हुन्छ । यस्तै प्रवृत्ति दोहोरिदै गयो भने कार्यकर्तामा वितृष्णा पैदा हुन्छ । मेरा पिताजी पनि काँग्रेसमा हुनुहुन्थ्यो । मेरो परिवार सबैले पार्टीमा लगानी गरेको छ । पिताजी भारतको दरभंगामा बस्दा नेपाली काँग्रेसको पर्चा पम्प्लेट बोकेर ल्याउनु हुन्थ्यो । उहाँले दरभंगाबाटै त्यसबेला एसएलसी गर्नुभएको थियो । पार्र्टीमा लाग्दा हामीले टिकट पाउला, पदमा पुगौला भनेर लागेका थिएनौं । सिद्धान्तकालागि लागेका थियौं ।

अन्त्यमा धरानवासीलाई तपाईको के सन्देश छ ?

–सम्पूर्ण साथीहरु धरानबासी दिदी बहिनी, दाजु भाईलाई आग्रह गर्छु मैले कहिल्यै पदीय आकांक्षा देखाएको थिइन। सिद्धान्तको पछिलागेको पनि ३०–३५ बर्ष भयो । पदमा नपुगी जनताको सेवा गर्न सकिदैन भन्ने लागेकोले मैले उमेद्वार हुने इच्छा देखाएको हुँ । यो कार्यमा मलाई सहयोग गरिदिनु हुन आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई समेत कार्यकर्ताको सही मुल्याकन गरिदिनु अनुरोध गर्छु ।

संम्बन्धित समचार

Leave a Reply