एवेलीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १४, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

-देवेन्द्र कोइराला

“एवेलीन ” आइरल्याण्डका एक सु–प्रसिद्द आधुनिक लेखक, साहित्यकार तथा उपन्यासकार, जेम्स जोइसद्वारा लेखिएको छोटो कथा हो। सन् १९१४ मा प्रकाशित कथासङ्ग्रह, डब्लिनर्समा समावेश १५ कथाहरुमध्ये “एवेलीन ” पनि एक हो। यो करिब १९०४ सालमा लेखिएको कथा हो जुन डब्लिन शहरकी करीब १९वर्षीय, निम्न बर्गीय स्त्री पात्र, एवेलीनको जीवनमा आधारित छ। भनिन्छ, जोइसले एवेलीनको शैक्षिक स्तरलाईनैध्यानमा राखेर शब्द प्रयोग गरेका थिए। जोइसद्वारा लिखित कथाहरुमध्ये  “एवेलीन ” एक सरल भाषामा लेखिएको कथा हो। “एवेलीन ” उनै लेखकले लेखेका हुन् जसले यूल्लिसीयस (1922), फिन्नेगनस ओयक (1939) जस्ता उत्कृष्ट उपन्यासहरु लेखेका छन्।
कथामा सन् १९०४ सालताकाको आइरीस समाज, त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक परिवेसलाई यथार्थरुपमा चित्रण गर्न खोजिएको पाइन्छ। सामाजिक रुपमा पुरुषप्रधान, क्याथोलीक धर्मावलम्वीको बाहुल्य भएको समाज, डब्लिन आर्थिक रुपमा मध्येम देखाइएको छ। ‘ग्रेट फेमिन’ (१९४५-५०) जस्तो महासङ्कटको अवस्था भर्खर पार गरेको महशुस गर्न सकिन्छ।
सन् १९०४ सालताकाको राजनीतिक अवस्थालाई पनि कथामा समेटिएको पाइन्छ। आइरिस जनताहरु अङ्ग्रेजको उपनिवेशबाट मुक्ति पाउनको लागि विभिन्न किसिमका मोर्चाबन्दी गरिरहेको अवस्था थियो।
सन् १८७०-८० को दशकमा आइरल्याण्डका एक आशलाग्दा नेताका रुपमा उदाएका चार्ल्स स्टेवार्ट पार्नेलको सन् १८८० पस्चातको घट्दो लोकप्रीयता र सन् १८९१ मा उनको मृत्युपस्चात आइरीस जनतामा देखिएको नैरास्यता, हतोत्शाहीको अवस्था र उक्त आशलाग्दा नेताको रिक्ततामा आङ्लो-आरिश कवि, डब्लु बि यट्स, जर्ज रसेल जस्ता साहित्यिक व्यक्तित्त्वहरुको सहभागितामा गठीत केल्टिक रिभाइवलले केही मात्रामा कला, साहित्य, संगीतको माध्यमबाट आइरिश जनताको रास्ट्रियताको भावना उजागर गर्ने गर्दथ्यो। कथाको दोस्रो अनुच्छेदको सुरु र दोस्रो भागको चौंथो हरफमा सिपाही र खैरो झोलाको दृश्य देख्न सक्छौँ, जसले युद्धको संकेत गर्दथ्यो, राजनीतिक अस्थिरताको संकेत गर्दथ्यो ।

कथामा तृतीय पुरुष (ऊ र उनी ) को बढी प्रयोग भएको छ। कथाको शुरुवात पनि सर्वनाम(उनी) बाट हुन्छ, जुन नेपाली साहित्यमा असामान्य पनि मानिन्छ। यध्यपी, कहिलेकाहीँ नाम (फ्र्यांक, एवेलीन) पनि प्रयोग भएको पाइन्छ।

उनी झ्यालमा बसेर बेलुकी पखको, घाम डुब्दै गर्दाको दृश्य हेर्दै थिइन्। उनी टाउको झ्यालको पर्दामा अड्याउँथिन् र उनको नाकमा ढुसीको गन्द आउँथ्यो । उनी थकित थिइन्।
केही मान्छेहरु घर अगाडीबाट जाँदै थिए। पछिल्लो घरको मान्छे पनि अगाडीबाट गयो। उसको हिँडाइको आवाज वा भनौँ छेउमा बनेको नयाँ रातो सिमेन्टको घरको आँगनमा टेक्दाको जुत्ताको टक्-टक् आवाज सुन्दथिन्। त्यो घर बनेको ठाउँमा कुनै बेला खाली खेत थियो, जहाँ उनी हरेक बिहान अरुका बच्चाहरुसँग खेल्ने गर्थिन्। त्यही ठाउँमा वेल्फास्टबाट आएको एउटा धनी मान्छेले जग्गा किनेर घर बनाउँछ, सामान्य सानो खैरो घर नभएर चहकिलो इटाको घर चम्किलो छानो हालेर। बच्चाहरु डेविन्स, वाटर्स, डान्स, लिटल क्योउ (अपाङ्ग छ), उनी र अन्य दाजुभाइ-दिदीबहिनीहरु सबै त्यस खेतमा खेल्ने गर्दथे। यद्देपी अर्नेस्ट चाहीँ कहिलै खेल्दैनथ्यो। ऊ अलिक ठूलो भैसकेको थियो। उनका बुवाले कहिलेकाहीँकालो लौरो लिएर तर्साउनुहुन्थ्यो। तर त्यतिबेला लिटल क्योउले भने संकेत गर्दथ्यो। एवेलीनको बुवा आएको देख्नासाथ सबैलाई बोलाउँथ्यो। तैपनि त्यसैमा तिनीहरु खुशी हुन्थे, रमाउँथे। उनको बुवा पनि त्यति खराब थिएनन् त्यतिबेला, उनी त्येती पिउँदैनथे। र उनकी आमा पनि जीवित थिइन्। ती सब धेरै वर्ष अगाडिको कुरा थियो। उनी र उनका दाजुभाइ-दिदीबहिनी सबै जना ठूला भइसके, उनकी आमा पनि बितिसकिन्। टिजी डन पनि बितिसक्यो। र वाटर्स पनि इङ्गल्याण्ड फर्किसक्यो। धेरै बदलिसके। अब त एवेलीन पनि ठूली भइसकी, सबै छोरीमान्छेजस्तै उनी पनि अर्काको घर जाने उमेरकी भइसकी।
घर, कोठामा यता-उता हेर्थिन्, टोलाउँथिन्, हप्तैपिच्छे सफा गर्दा पनि फोहोर कताबाट आउँछ भनेर सोच्थिन् । सायद तिनले कहिलै देख्ने थिइनन् होला ती सब जानपहिचानका बस्तुहरु जससँग उनी सपनामा पनि छुट्न सक्दिनन्। यद्द्येपी यतिका वर्षसम्म उनले त्यो पादरीको नाम अझै भेट्न सकेकी थिइनन्, जसको फोटोग्राफ भित्तामा हार्मोनियम माथि माता मार्गारेट म्यारी अलाकोकको १२ बचनको लिखित रंगीन कागजको छेउमा झुन्ड्याइएका हुन्थे। त्यो पादरी उनको बुवाको स्कूले साथी थियो। घरमा आउने कसैले उक्त तस्विरको बारेमा सोधेको खण्डमा उनी सधैँ त्यही कुरा दोहोर्याएर पास गर्ने गर्थे।

-ऊ अहिले मेलबोर्नमा छ।
उनले बाहिर जाने बचन दिइसकेकी थिइन्, पुरानो, सधैँ धूलोमैलो हुने घर छाडेर। के त्यो उचित थियो ? के गर्दा ठीक के गर्दा बेठीक, हरेक तर्फ सोच्ने प्रयास गर्थिन्। घरमा कम्सेकम खाना र बास त मिलेको थियो। उनलाई जिन्दगीमा सबैभन्दा बढी चिन्ने मान्छे तिनीसँग थिए। अवस्य पनि घरभित्र बाहिर दुवैतिर उनले काम गर्न परेको थियो । उनीसँगै स्टोर्समा काम गर्ने अरुले के भन्थे होला जब तिनीहरुले उनी कोही व्यक्तिसँग भागेको थाहा पाए भने ? सायद, कति मूर्ख रहिछ भन्थे होला, उनको ठाउँमा नयाँ कामदारको लागी बिज्ञापन खुल्थ्यो होला। मिस गावान खुशी हुनेथिइन् होला। मिस गावान सधैँ उनको ख्याल गर्थिन्, यद्धेपी उनी मालिक थिइन्। र कहिलेकाहीँ कराउने गर्थिन् पनि। विशेषत: जतिखेर मान्छेहरु सुन्नेगर्थे।
-मीस हील, महिलाहरु कुर्दैछन् तिमी देख्दिनौ ?
-हेर राम्रोसँग, कृपया मीस हील।
तीनले त्यती धेरै आँसु बगाउने थिइनन् होला स्टोर्स छोड्दा सायद। तर उनको नयाँ घर, परदेशमा, बिल्कुल अपरिचित ठाउँमा, त्यस्तो हुँदैन थियोकी। त्यतीबेला उनी बिबाहित हुने थिइन्
– उनी, एवेलीन।
मान्छेहरु आदर-सम्मान गर्थेकी। उनकी आमालाई जस्तो व्यवहार गरिँदैन थियोकी। अझैपनि, यद्द्येपी उनी १९ कटिसकिन्, उनी कहिलेकाहीँ आफ्नै बाबुबाट, बाबुको पिटाइ र हिंसाबाट खतरा ठान्थिन्। उनी डराउँथिन्, आत्तिन्थिन्। उनी सानोमा बुवाले हुर्काउँदाका कुराहरु सम्झिन्थिन्। बुवाले एवेलीनलाई कहिलै पिटेनन्। जबकी ह्यारी र अर्नेस्टलाई पिट्ने गर्थे। किनकी एवेलीन केटी थिइन्। तर पछिबिस्तारै एवेलीनलाई हप्काउन थाले, रूखो बोल्न थाले। भन्थेकी मरेकी आमाको मुक्तिको लागि मात्र घरमा राखेको। उनलाई बचाउने, उनको ख्याल गर्ने त्यहाँ कोही थिएनन्। अर्नेस्ट बितिसक्यो। ह्यारी, जो चर्च सजाउने व्यवसाय गर्दथ्यो, गाउँतिर चर्चको रेखदेख गर्नमा ब्यस्त हुन्थ्यो। त्यसबाहेक, शनिबार राती पैसाको लागि गरिने रडाकोले उनलाई धेरै नै सताउँथ्यो, बोल्न नसक्ने गरी दिक्क बनाउँथ्यो। उनी सधैँ पुरै तलब (७ सिलिंग्स) बाबुलाई दिन्थिन्
-र ह्यारीले पनि जति सक्थ्यो पठाउँथ्यो। तर बाबुबाट केही पैसा पाउनको लागि समस्या हुन्थ्यो। उल्टो भन्ने गर्थेकी उनले धेरै पैसा खर्च गरिन् रे-
पैसा उडाइन् रे। –
त्यस्तो मुस्किलले कमाएको, जोडेको पैसा गल्लीमा मिल्काउनको लागि अबदेखि दिन्न भन्दै गाली गर्थे। विशेषगरी शनिबार राती उनी केही बढीनै गर्थे किनकि त्यो रात उनले पिएका हुन्थे। तैपनि अन्तमा केही पैसा दिन्थे र आइतबार डिनरको लागि केही किन्ने योजना छ की भनेर सोध्ने गर्थे। उनी हतारमा बजार निस्कन्थिन्, हातमा कालो छालाको झोला भिरेर भिडमा तँछाड-मछाड गर्दै। उनी झोला बलियो गरी समात्थिन् ताकी भिडमा कसैले थुत्न नसकून् भनेर। बजारबाट भारी सामान बोकेर घर फर्कंदा अबेर भैसक्थ्यो। उनलाई धेरै गार्हो काम गर्नुपर्थ्यो घर सम्हाल्नका लागि र दुईजना बच्चा, जसलाई उनको जिम्मामा छाडिएको थियो स्कूल लान-लेराउन र नियमित खाना खुवाउनका लागी। (उनकी आमाले अन्तिम समयमा दुईजना बच्चा, सायद उनका भाइहरु, उनको जिम्मा लगाएर छाडेकी थिइन्- सधैँ स्कूल ल्याउन लान, नियमित खाना खुवाउनकालागि।)

यो गाह्रो काम थियो, एउटा अतिनै गाह्रो जिन्दगी थियो। तर अब उनी ती सब छाडेर जाने अबस्थामा थिइन्। त्यसैले त्यस्ता कामलाई धेरै गाह्रो मान्दिनथिन्।
उनी फ्र्यांकसँग छुट्टै संसार पत्ता लगाउने शूरमा थिइन्। फ्र्यांक एक असल, मानवीयता भएको, खूला हृदयको व्यक्त्ति थियो। उनी रात्री जहाजमा भाग्ने योजनामा थिइन् फ्र्यांककी अर्धाङ्गिनी बन्नका लागि, व्युनोस आयर्सतर्फ जहाँ एक सुन्दर घरले उनलाई कुर्दैथियो। उनी कति राम्रोसँग सम्झन्थिन् फ्र्यांकसँगको पहिलो भेट। उनी सधैँ हिंड्ने मेइन रोडमा रहेको लजमा ऊ बस्थ्यो। त्यो थोरै हप्ता अगाडी जस्तो लाग्थ्यो, ऊ गेटमा उभिरहन्थ्यो, क्याप पछाडी ढल्काउँथ्यो र उसको कपाल रातो वर्णको अनुहारको अगाडि तलतिर झर्थ्यो। तिनीहरु एकापसमा घूलमिल हुँदै गएका थिए। ऊ सधैँ बेलुकीपख स्टोर्सको बाहिर भेट्ने गर्थ्यो, र घरसम्म छाड्ने गर्दथ्यो। उसले एवेलीनलाई ‘बोहेमियन गर्ल्स’ (१८४३ एडिमा निर्मित म्युजिकल फिल्मजुन आइर्ल्यान्डको नोबल परिवारकी केटीको कथामा आधारितछ।) देखाउन लैजान्थ्यो। उनी निकै खुशी हुन्थिन्, दङ्ग पर्थिन् जब कहिलै नदेखेको, नजानेको, नगएको नाटकघरमा फ्र्यांकसँग बस्न पाउँदा।

फ्र्यांक अति संगीतप्रेमी थियो र थोरै गुन्गुनाउँथ्यो पनि। मान्छेहरुलाई थाहा हुन्थ्यो की उनीहरु डेटिंगमा थिए भनेर। जब उसले एउटी केटी जसले एउटा से-लरलाई मन पराउँथी, त्यसको बारेमा गाउँदा आनन्द महशुस गर्थिन् तर केही अलमलमा पर्थिन्। उसले सँधै मजाकको लागि एवेलीनलाई पोप्पेन्स भन्ने गर्थ्यो। सुरुमा त उनीसंग कोही मान्छे थियो त्यसैमा उनी अचम्मीत् थिइन् र पछि उसैलाई मन पराउन थालिन्। उसले सधैँ टाढाको देश-विदेशको कथा सुनाउँथ्यो। उसले आफ्नो क्यारियर डेक वोयको रुपमा शुरु गरेको थियो। क्यानाडा जाने आल्लान लाइनको पानी जहाजमा उसले काम गर्थ्यो जसमा महिनाको १ पाउण्ड तलब थियो। आफूले काम गरेको विभिन्न जहाजको नाम एवेलीनलाई सुनाउँथ्यो। ऊ मागेल्लनको बाटो हुँदै जाने गरेको कथा सुनाउँथ्यो। त्यस्तै पाटागोनिअन्सको डर लाग्दो कथा सुनाउँथ्यो। त्यसैगरी, व्युनोस आयर्समा आफू सफल भएको, खुशीसाथ जीवनयापन गरेको कुरा सुनाउँथ्यो र बिदामा आफ्नो पूरानो देश आएको कुरा बताउँथ्यो। अवस्य एवेलीनको बुवाले पनि उनीहरुको सम्बन्धको बारेमा थाहा पाइसकेका थिए। एवेलीनको बुवा खासै खुशी थिएनन्। भन्थे,
-मलाई थाहा छ यी से-लर च्याप्सहरू
एकदिन एवेलीनको बुवा र फ्र्यांकबीच झगडा परेको थियो र त्यसपछि एवेलीन र फ्र्यांक गोप्य रुपमा, लुकीछिपी भेट्ने गर्दथे ।
साँझपख घाम डुब्दै थियो। एवेलीनको काखमा दुईओटा चिठी थिए। एक ह्यारीको लागी र अर्को बुवाको लागी। अर्नेस्ट उनको प्रीय थियो तर उनी ह्यारीलाई पनि मन पराउँथिन्। उनको बुवा बिस्तारै वृद्द हुँदै थिए। उनलाई पीर पर्न थाल्थ्योकी एकदिन बुवाले पनि छाडेर जाँदैछन् भनेर। उनी सम्झिन्थिन् कुनै समय उनका बुवा असल थिए। त्यति धेरै अगाडि पनि होइन, जब उनी बुवाको काखमा सुत्थिन् र बुवाले भूतको कथा सुनाउँथे, उनको लागि आगोमा टोस्ट पोल्थे। अर्को दिन जतिबेला एवेलीनकी आमा पनि जीवित थिइन्, सबै मिलेर पिकनिक गएका थिए ‘होव्थ’ भन्ने टापुमा। उनी सम्झिन्थिन्कि जब उनको बुवा आमाको टोपी लगाएर बच्चाहरुसँग जिस्कन्थे, बच्चाहरुलाई हसाउँथे।
समय धेरै छिटो बढ्दैथियो तर उनी त्यही झ्यालको छेउमा बस्दै पर्दामा टाउको अड्याउँदै थिइन्। नाकमा पर्दामा लागेको ढूसीको गन्द आउँदै थियो। तेत्तिकैमा बाहिर अलि पर उनी मधुर धुन बजेको सुन्थिन्। त्यो धुन उनलाई जान पहिचानको लाग्दथ्यो।साँझपखको उक्त मधुरधुनले उनलाई आमासँग गरेको बाचाको याद दिलाउँथ्यो। उक्त बाचा थियो कि, घरको रेखदेख गर्ने, घर सम्हाल्ने।उनी बिरामी आमाको अन्तिम अवस्था सम्झिन्थिन्।तेस्तैमा उनीअर्कोतर्फ बन्द अँध्यारो कोठामा इटालीको सुमधुर हावालाई सुन्दथिन्। त्यो अर्गान प्लेएरलाई उनको बुवाले सिक्सपेन्स (आइरिसपैसा) दिएर बाहिर जानका लागि कराउँथे।अस्वस्थ अवस्थाको उनको बुवा सुतिरहेको ठाउँबाट कराउँथेः
-यी धुर्त इटालियनहरू ! यहाँसम्म आइसके !

उनी आमाको अन्तिम समयसम्मको अवस्था सम्झिन्थिन्। आमाको दर्दनाक अवस्थाको जिन्दगीबाट उनले धेरै सिकेकी थिइन्। आमाको दयनीय अवस्था सम्झिएर उनी आफ्नो स्थितिप्रति थोरै भएपनि सहानुभुतीको महसुस गर्थिन् , उनकी आमाको दैनिकी, सदैव पतिको सेवा गर्नुपर्ने, पति, परिवारको लागि गरेको त्यागले अन्ततस् पागलसरह बनाउँछ। उनी काँप्थीन् जब उनी आमाको अन्तिम अवस्थामा, अचेत अवस्थामा निरन्तर निस्कने शब्द सुन्थिन्। (देरेवौँ सेरौं ! देरेवौँ सेरौं ! (आनन्दको अन्त दुस्खमा हुन्छ ! गीतको अन्त पागलपनमा हुन्छ !)

उनी अचानक छट्पटाएर उठ्थिन्। भाग ! तिमी भाग्नैपर्थ्यो ! फ्र्यांकले तिमीलाई बचाउन सक्थ्यो। उसले तिमीलाई जीवन दिनसक्थ्यो, सायद माया पनि गर्थ्योकी। तर उनी बाच्न चाहन्थिन्। किन उनी दूखी हुनुपर्नेरु उनको पनि खुशी हुन पाउने अधिकार थियो। फ्र्यांकले पाखुरामा च्याप्थ्योकी। उसले बचाउँथ्योकी ?
。。。
उनी नर्थ वालको पानी जहाज स्टेसन (ferry terminal)मा ठूलो भिडको बीचमा थिइन्। फ्र्यांकले उनको हात समाउँदै थियो र उनलाई थाहा थियो की फ्र्यांक उनीसँग केही भन्दैथियो, त्यो प्यासेजको बारेमा केही भन्दै थियो दोहोर्याई, तेर्याही। सिपाही र तीनका खैरो रंगको झोलाहरुले स्टेसन खचाखच भरिएको थियो। स्टेसनको फराकिलो ढोकाबाट बन्दरगाहको पर्खालको छेउमा अबस्थित कालो ठूलो जहाजप्रति उनी नियाल्थिन्। उनी केही बोल्दिनन्, नाजबाफ थिइन्। गाला पहेंलो, चिसो भएको अनुभव उनी गर्थिन्। उनी निकै तनाबमा देखिन्थिन्। के गरौँ, कसो गरौँ, कुनै मेसो पाउँदिनन्। बरु के गर्दा ठिक होला भनि भगवानसामू प्रार्थना गर्थिन्। उता जहाजले चल्न लाग्दाको अवाज दिँदैथियो, उक्त आवाज उनलाई बिरक्त लाग्थ्यो। यदि उनी गएकी थिइन् भने, भोलि उनी फ्र्यांकको साथ खुल्ला समुन्द्रको बीचमा हुन्थिन्। उनी व्यूनोस आयोर्सतर्फ बढ्दै हुन्थिन्। फ्र्यांकले टिकेटको पनि व्यवस्था गरिसकेको थियो। त्यति गरिसकेपछि पनि उनको मनस्थिति बदलिन सक्थ्यो ररु अत्याधिक चिन्ताले उनको शरीर काम्न थालेको थियो। उनी बर्बराउँथिन्, कहिले ध्यान गर्थिन्।
जहाजको हर्नसँगसँगै उनको छातीको धड्कन धक्-धक् हुन्थ्यो। फ्र्यांकले हात च्यापेर तानिरहेको अनुभव तिनी गर्थिन्।
(आऊ !
संसारको सबै समुन्द्रका पानी आफ्नै छातीमाथि खनिएको अनुभव उनी गर्थिन्। फ्र्यांकले समुन्द्रभित्र डुबाइदेको अनुभव हुन्थ्यो। सायद डुबाउँथ्यो होला। उनी दुवै हातले फलामको बारमा च्याप्प समात्थिन् ताकि फ्र्यांकले तान्न नसकोस्। (यता फ्र्यांक कराइरहेको हुन्थ्यो।)
-आऊ !
नाइँ ! नाइँ ! नाइँ ! यो असम्भव। उनी चिच्च्याउँदै बारमा हातले हान्थिन् । कहाली लाग्दो समुन्द्रको सुसाहटसँगै उनी पनि डाँको छाडेर रुन्थिन्। दू:ख र पीडाले छट्पटाउँदै रुन्थिन्।
(फ्र्यांक बेस्सरी कराउँथ्यो।)
-एवेलीन ! एभी)
फ्र्यांक हत्तारिदै बारबाट जहाजको ढोकातिर बढ्यो र एवेलिनलाई पछि-पछि आउन भन्दै थियो। पछाडिबाट फ्र्यांकलाई अरुहरुले कराउँदै थिए छिटो जानको लागि ( ढोकाबाट भित्र छिर्न) तर ऊ अझैपनि ढोकाको छेउबाट एवेलीनलाई बोलाउँदै थियो। उनी सेतो शिथिल अनुहार देखाउँथिन, डेग चल्न नसक्ने जनावरजस्तै अचल देखिन्थिन्। उनका आँखाले फ्र्यांकप्रति थोरै पनि मायाको संकेत दिँदैनथ्यो अथवा भनौँ अन्तिम बिदाइ वा चिनेजानेको सङ्केत समेत पनि देखाउँदैनथ्यो।

ताजा अपडेट

खोजी गर्नुहोस