उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने, ट्रिपर आतंक रोकिएला ?

Post Thumbnail

असार २७,काठमाडौँ । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन दिएको अनलाइनखबरलाई बताए ।

‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेकै छ’, उनले भने ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस