तीन कलाकारलाई केशव दुवाडी ललितकला स्मृति सम्मान

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ भाद्र २२, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपाली नोटका डिजाइनर केशव दुवाडीको सम्मानमा स्थापना भएको केशव दुवाडी स्मृति प्रतिष्ठानले तीन जना कलाकारलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले ‘केशव दुवाडी ललितकला स्मृति सम्मान’बाट वरिष्ठ कलाकार कृष्णगोपाल (केजी) रञ्जितलाई सम्मान गरेको छ भने ‘केशव दुवाडी ललितकला प्रतिभा पुरस्कार’बाट कलाकारद्वय एनबी गुरुङ र सुमित्रा रानालाई सम्मान गरेको हो ।

प्रतिष्ठानको काठमाडौँमा भएको छैटौँ साधारणसभाका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) मा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरे । स्मृति सम्मानको पुरस्कार राशि रु १० हजार रहेको छ भने प्रतिभा पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

कुलपति कर्माचार्यले यस्ता सम्मानले कलाकारलाई हौसला प्रदान गर्ने उल्लेख गर्दै कलासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन प्रतिष्ठानलाई आग्रह गरे । पुरस्कृत तर्फबाट अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले सम्मानले आफूलाई कलाको क्षेत्रमा अझै केही गर्न हौसला मिलेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार राधेश्याम मुल्मी र नरेन्द्रबहादुर श्रेष्ठले उपयुक्त व्यक्तिलाई छनोट गरेर सम्मान प्रदान गरेको भन्दै प्रतिष्ठानको प्रशंसा गरेका थिए । सो क्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कलाले जीवन बोल्नुपर्ने उल्लेख गर्दै नेपाली कलाकारले समाजमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीको अध्यक्षतामा भएको उक्त समारोहमा नाफाका प्राज्ञ एवं प्रतिष्ठानका सदस्य सचिव रमेशनाथ खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुधा दुवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

नेपाली नोटका डिजाइनर कलाकार केशव दुवाडीको विसं २०५३ मा निधन भएको थियो । उनको सम्झनामा परिवारले २०७२ सालमा प्रतिष्ठान स्थापना गरेर कला क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विसं २०२४ मा ललितकला महाविद्यालयका प्रमुख भएका दुवाडीको बाह्रखरी वर्णमाला, दृष्टान्त चित्र र मुहारचित्रमा ठूलो योगदान रहेको छ । उनले अहिले चल्तीमा रहेको नेपाली नोट (रु एक, पाँच, १०, ५०, १००, ५०० र एक हजार) को नोट डिजाइन गरेका थिए । उनले भारतबाट फाइन आर्टमा स्नातक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस