नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : प्रधानमन्त्री

भाद्र २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् ।

मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दिउँसो उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत् सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए ।

उनले पाइपलाइन परियोजना सन्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए ।

‘पाइपलाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ’–प्रधानमन्त्रीले भने–‘आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।’

उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे ।

‘परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ’–प्रधानमन्त्री ओलीले भने–‘यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामामात्र सीमित नरहेको उल्लेख गर्दै उनले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँचचौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताए ।

प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताए ।

‘हाम्रा दुई देशबीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ’–उनले भने ।

नेपाल र भारत दुवै स्पस्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने–‘बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।’

सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।

अत्यन्त खुसी छु : मोदी

सोही अवसरमा नयाँदिल्लीबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत् सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताए ।

उनले भने–‘म अत्यन्त खुसी छु । दुवै मुलुकको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको छ ।’

भारत र नेपालबीच सदियौंदेखि जनस्तरमा पारिवारिक र सांस्कृतिक सम्बन्ध रहेको औंल्याउँदै उनले नेपालको विकास प्रयासमा भारतको सधैं साथ र सहयोग रहने बताए ।

‘दुई देशका जनता जनताबीचको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधारकारुपमा रहेको छ’–उनले भने ।

नेपालको उच्च राजनीतिक नेतृत्वसँग आफू बारम्बार संवादकाक्रममा रहेको स्मरण गर्दै उनले पछिल्लो डेढ वर्षमा आफूले चारपटक नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताए ।

भारत र नेपालको समृद्धिका लागि परस्पर हितका आधारमा साझेदारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुवै मुलुकलाई लाभ हुनेगरी विकासका नयाँ–नयाँ क्षेत्रमा समझदारी गरिएको बताए ।

दुवै मुलुकका सरकारको उच्च प्राथमिकतामा रहेकाले सो परियोजना तोकिएको समयमै सम्पन्न भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न आउनेसमेत बताए । रासस

संम्बन्धित समचार

Leave a Reply