भदौ २९ , काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले सिजन २०१९–२० का लागि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मेलवर्न स्टार्सबाट खेल्ने पक्का भएको छ।
मेलवर्नले आइतबार सन्दीपसँग सम्झौता भएको पुष्टि गरेको हो। सन्दीपका सहयोगी रमन सिवाकोटीले पनि मेलवर्नसँग सम्झौता भएको बताएका छन्।
गत सिजन सन्दीपलाई मेलवर्नले ६० हजार डलरमा आबद्ध गरेका थिए। यो सिजनको सम्झौता रकम भने खुलाइएको छैन।
यसअघि नै मेलवर्नका प्रशिक्षक डेभिड हसीले सन्दीपलाई सिजनभर खेलाउन चाहेको प्रतिक्रिया दिएका थिए।
सन्दीपले गत सिजनको बीबीएलमा ७ खेलमा ११ विकेट लिएका थिए। बीबीएलको सुरु र अन्त्यमा मात्र खेलेको सन्दीप बीचमा बंगलादेश प्रिमियर लिग ९बीपीएल० खेल्न गएका थिए।
सिजनको बीबीएल डिसेम्बर १७ बाट सुरु हुँदैछ। मेलवर्नले आफ्नो पहिलो खेल ब्रिसबेन हिटसँग डिसेम्बर २० मा खेल्नेछ।