‘परिवर्तनलाई रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता हो’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३०, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसमा प्रचण्डले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिएका हुन् । उनले हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताए ।

‘ठूलो बलीदानीबाट प्राप्त उपलब्धी भत्काउन सकिन्छ कि, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमाथि नै आक्रमण गर्न सकिन्छ कि भनेर घेराबन्दी भइरहेको छ’, प्रचण्डले भने ‘परिवर्तनलाई रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता हो ।’

उनले अगाडि भने, ‘हजारौँ छोराछोरीले ल्याएको परिवर्तनको रक्षा गरेर समाजवादको सपना पूरा गर्नका लागि भूमिका खेल्न जरुरी छ । तमाम युवा साथीहरुलाई, विद्यार्थीहरुलाई म अपिल गर्न चाहन्छु, अराजक तत्वले जनतामा भ्रम सृजना गर्ने, हत्केलाले सूर्य छेक्ने प्रयास गरिरहेका छन् त्यसको प्रतिवाद गर्नुहोस् ।’

‘अहिलेको राज्य प्रणाली कलिलो बच्चा जस्तै छ । यो सिस्टम परिपक्व भइसकेको छैन, विरोधीहरु कलिलोमा नै निमाठ्न सकिन्छ कि, मार्न सकिन्छ कि भनेर छटपटिएको हामी देख्छौँ । अराजक आतंकको वातावरण बनाउन प्रयास भएको छ’, प्रचण्डले भने, ‘सचेत बनौँ।’

प्रचण्डले चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको बताए ।

‘हामी चारैतिरबाट घेरिएका छौँ, पुँजीवादले एकातिर साम्राज्यवादले अर्कोतिरबाट घेरिएका छौँ, विचलनको अवस्थाबाट पनि घेरिएका छौँ । त्यसैले पार्टीमा वैचारिक स्पष्टता चाहिएको छ, अनुशासित कम्युनिष्ट पार्टी चाहिएको छ, भरोसायुक्त पार्टी निमार्णको क्रममा हामी छौँ, समाजवादको दिसामा नै अघि बढ्ने हो’, प्रचण्डले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस