भाद्र ३१, सुनसरी । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीको वहाव बढेको छ ।
कोशी व्यारेजमा मंगलबारको पछिल्लो मापनअनुसार सप्तकोशी नदीको वहाव २ लाख ३२ हजार ९८५ क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेज कन्ट्रोलरुमले जनाएको छ ।
अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये ३६ वटा ढोका खोलिएको छ ।
यसैगरी सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।