असार २८,रुपन्देही । बहुचर्चित बुद्ध–सर्किटमा बुद्धकालीन सभ्यताको ऐतिहासिक क्षेत्र सैनामैना समेत समावेश भएको छ ।
रुपन्देही जिल्लाको सैनामैनामा बुद्धकालीन अवशेष फेला परेपछि यहाँका विभिन्न क्षेत्रहरू बुद्धकालीन महत्वका रहेको भन्दै पुरातत्व विभागले समेत चासो दिएर काम शुरु गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।
बुद्धकालीन सैनामैनाको सभ्यतालाई बृहत् बुद्ध सर्किटमा समावेश गरेर खाका तयार पारिएको विषयमा अहिले अन्तिम परामर्श चलिरहेको बताइएको छ ।
सरकारले गत वर्षदेखि बृहत् बुद्ध सर्किटको खाका बनाउने पर्यटनविद् रविजंग पाण्डेको संयोजकत्वमा बुद्धधर्मका ज्ञाता, विज्ञ र प्राविधिकहरू समावेश गरेर विशेष टोली गठन गरी यस्तो खाका बनाउन खटाएको थियो ।
सैनामैनालाई लुम्बिनी र कपिलवस्तुपछि तेस्रो महत्वका रूपमा उक्त रुटमा सामेल गरिएको छ । लुम्बिनीसहित बुद्धसँग सम्बन्धित ग्रेटर लुम्बिनीका क्षेत्रलाई मुख्य रुटका रूपमा राखिएको छ । यही रुटलाई आधार मानेर पूर्वको हलेसीदेखि पश्चिममा दैलेख, दुल्लु र कालीकोट हुँदै मानसरोवरसम्मको रुट निर्माण गरी दस्तावेजमा उल्लेख गरिएको छ ।
यस्तै, अहिले चीनले ‘वान बेल्ट वान रोड’का रूपमा अगाडि बढाएको नयाँ सिल्करोडलाई समेत जोडेर अर्को विशेष रुट तयार भएको छ । गत साउनदेखि काम थालेको टोली यही असार अन्तिमसम्म प्रतिवेदन बनाएर सरकारलाई बुझाउन लागेको उक्त टोलीका सदस्य रामचन्द्र सेढाँइले जानकारी दिए।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले ढिलै भएपनि सैनामैनाको बुद्धकालीन सभ्यतालाई बृहत्तर बुद्ध सर्किटमा समावेश गरेकामा धन्यवाद व्यक्त गरे । यस्ता सम्पदाको संरक्षण, उत्खनन् र विकासका लागि आफूहरू गम्भीर भएर लागेको भन्दै प्रमुख कार्कीले प्रदेश र संघीय सरकारको समन्वयमा काम अगाडि बढाइने उनले बताए ।