चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन

Post Thumbnail

असार २९,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले आज देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरी यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिएका छन।

निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने स्पष्ट पारेका छन ।

यता नेपाल चिकित्सक संघले भने डा केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस