नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि जापानी कम्पनीसँग सम्झौता, ४२ महिनामा काम सकिने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ आश्विन ६, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ बनाउन सोमबार सम्झौता भएको हो ।

सम्झौतामा सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नोभेम्बर १ बाट सुरुङमार्ग निर्माणको काम थालिनेछ । काम थालेको ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ ।

यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो ।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस