हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौँका गाडी खरिद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ८, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाडौं । गठन नै नभएको प्रदेश प्रहरीका लागि सुदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका नौवटा गाडी किनेर साढे २ महिनादेखि चौरमा थन्क्याएको छ।

बजेट सक्न गत आर्थिक वर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् ।

प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन्।

मिडियाले यसबारे चासो राखेपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकारमातहत रहेको नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ ।

सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयलाई एक–एक गाडी दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव किशोरकुमार चौधरीले बताए ।

कर्णाली सरकारले पनि गत वर्ष प्रदेश प्रहरीका लागि तीन करोड ३० हजारमा १४ गाडी किन्यो । २ मिनी ट्रक, दुई टाटा जेनुन, ८ बोलेरो क्याम्पर र एक–एक टाटा सफारी र स्कारपियो फाइभ एस खरिद गरिएका थिए ।

तर, लामो समयसम्म थन्क्याइएका गाडी अन्ततः नेपाल प्रहरीको जिम्मा लगाइएको छ । ‘प्रदेश प्रहरी गठनमा ढिलाइ भएकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर कर्णाली नेपाल प्रहरीलाई मैले नै गाडी हस्तान्तरण गरेको हुँ,’ आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस