असोज ८, काठमाडौं । दिपायल सिलगढी नगरपालिका-३ मा गएको असार २ गते एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि अहिले उनका छोरा छोरी बिचल्लीमा परेका छन् ।
रक्सीले मात्तिएका स्थानीय कृष्ण नेपालीले श्रीमतीले मासु नपकाइदिएको भन्दै अन्धाधुन्ध कैँचीले प्रहार गर्दा श्रीमतीको ज्यान गएको थियो । हत्यापछि अहिले कृष्ण जिल्ला कारागार डोटीमा कैद भुक्तान गरिरहेका छन् ।
हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार जना छोरा छोरीहरु बिचल्लीेमा परेका हुन् । ‘दशैँ आयो, सबैले नयाँ लुगा किन्दैछन् । मेरो नाति-नातिनालाई लुगा त के खानेकुरा पनि छैन’, गहभरी आँसु पार्दै नेपालीकी ६० वर्षीया आमा पार्वती नेपालीले भनिन् ।
पार्वतीलाई अहिले नाति-नातिनाको कसरी पेट भर्ने भन्ने चिन्तासँगै उनीहरुको अलपत्र पर्न लागेको पढाइले सताएको छ ।नाति-नातिनाको पढाइको जिम्मा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले लिए पनि अहिले भने सम्पर्क हुन नसकेको पार्वतीले गुनासो गरिन् । ६० वर्षीया पार्वती बाथ रोगले ग्रसित छिन् । घरमा खाद्यान्नको अभाव छ, काम गरेर नाति-नातिनीलाई पाल्नसक्ने अवस्था पनि छैन ।
छिमेकीले दिएपछि मात्र उनको भान्छामा खाना पाक्छ ।
अभियुक्त कृष्णका जेठा छोरा अंकित १६ वर्षको भए । उनी कक्षा आठमा पढ्छन् । पढाइमा अब्बल अंकित कहिलेकाहीँ भोकै स्कुल जान्छन् ।
त्यस्तै अंकितकी १२ वर्षीया बहिनी सन्ध्या कक्षा ५ मा पढ्छिन । अर्का एक जना भाइले पढाइ छोडिसके भने जेठी दिदी कल्पना नेपाल प्रहरीमा भर्ना भएर अहिले सुदूर पश्चिम प्रदेशको प्रहरी तालिम केन्द्र दिपायलमा तालिम गर्दै छिन् ।
रक्सीले मातेका बुवाले आँखै अगाडि आमाको विभत्स हत्या गरेको देखेका कृष्णका छोराछोरी अहिले अरुसँग बोल्न पनि डराउँछन् ।