असोज १६, कञ्चनपुर। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पर्यटन वर्षलाई लक्षित गरी प्रचारप्रसारका र पर्यटकीय क्षेत्रको प्रवर्द्धनको कार्यमा लाग्नु पर्ने बताएका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वर धामको बुधबार अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। “पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिनोस” उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग समन्वयको कार्य म गर्छु।’
बेदकोट नगरपालिकाको निमन्त्रणा आइपुग्नु भएका मन्त्री पण्डितले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सबैको सहकार्य हुनु पर्ने बताए।
नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पूर्व पश्चिम राजमार्ग देखि उत्तरतर्फ रहेको शिव लिङ्गेश्वर धाम सम्म पुग्ने बाटो कालोपत्रे गर्न नगरपालिकाबाट चालु आर्थिक वर्ष ०७६/७७ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरी ठेक्का प्रक्रियामा गइसकेको मन्त्री पण्डितलाई जानकारी गराए।
उनले शिव लिङ्गेश्वर धामको पूर्वाधार विकासका लागि डिपिआर तयार भै भजनकिर्तन र अन्य कार्यक्रम गर्नका लागि सहजता प्रदान गर्न सभा कक्ष निर्माण र खानेपानी र शौचालयको व्यवस्थापन गरिएको बताए। पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको सुविधाका लागि पुल निर्माणको कार्य भइरहेको उनले बताए।
‘धामको थप व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेकाले चाँडै योजना कार्यान्वयनका लागि कार्य अगाडि बढाउने तयारी भइरहेको छ’ उनले भने।
सोही क्रममा मन्त्री पण्डितलाई नगरपालिकाका तर्फबाट नगर प्रमुख चन्दले मायाको चिनोस्वरूप विजयसालको भाँडो प्रदान गरेका छन।