असोज १६, काठमाडौं । प्रायः धेरै नेपाली मांसाहारी छन् भन्दा अत्युक्ति नहोला । मासु हामीहरुको दैनिक खान्कीजस्तै बनेको छ । मासु मन पराउनेहरुमा बढी मध्यम वर्गीय पर्दछन् । मासु कति खाने भन्दा सामान्यजस्तो लाग्छ । तर, यो जटिल विषय हो । मासु खान नजान्दा शरीर धेरै रोगको घर बन्ने गर्छ । स्वस्थ शरीरका लागि स्वस्थ मासु अत्यावश्यक पर्छ, तर खाने मात्रामा नियन्त्रित नहुँदा समस्या निम्तिन्छ ।
आफूले खाएको चिजलाई पचाउन सकियो भनेमात्रै शरीरले स्फूर्ति दिन्छ । मासुबाहेक अन्य चिजवस्तुहरु पनि हामीले खायौँ भनेपनि पाचनप्रणाली बलियो हुनु आवश्यक छ । यदि पचाउन सकिएन भने खानु निरर्थक छ । पचाउन नसक्ने गरी मासु खानु झनै बढी घातक हुन्छ । त्यसैले मासु कति खाने भन्ने कुरा मुख्यतः व्यक्तिको पाचनशक्तिमै भर पर्छ ।
शरीरको डाइजेस्टिभ पावर (पाचन क्षमता) अनुसार मासु चाँडो या ढिलो पच्ने हो । डाइजेस्टिभ पावर बढी भएका व्यक्तिले धेरै मासु खाएर पनि छिटो–छिटो पचाउन सक्छन् । तर, डाइजेस्टिक पावर कम भएका व्यक्तिले थोरै मासु खाँदा पनि पाचनक्रियामा समस्या आउन सक्छ ।
डाइजेस्टिभ पावर खासगरी व्यक्तिको उमेर र शारीरिक सक्रियताअनुसार फरक पर्छ । उमेरलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । १० वर्ष आसपास उमेरसमूहका व्यक्तिको डाइजेस्टिभ पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै खानु हुँदैन । यस्तै ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिको डाइजेस्टिभ सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले त मासु छोडेकै उत्तम हुन्छ । १५–५० वर्ष उमेर समूहका व्यक्तिले आफ्नो पाचन क्षमतामा ख्याल गरेर मासु खानुपर्छ । फरक–फरक व्यक्तिको पाचनक्षमता बढी हुन सक्छ ।
व्यक्तिको दैनिक गतिविधिले पनि मासु कति खाने भन्नेमा फरक पार्छ । शारीरिक कसरत बढी हुनेले केही धेरै मासु पचाउन सक्छ । तर, कसरत कम हुन्छ भने कम मासु खानुपर्छ । त्यसो त मासु खाने समयमा पनि ख्याल गर्नुपर्छ । बिहान र दिउँसो खाएको मासु पच्न सजिलो हुन्छ । तर, राति सुत्ने समय भएकाले बेलुका मासु खाँदा पच्न मुस्किल पर्छ । राति मासु नखानु नै उत्तम हुन्छ ।
मासु धेरै खाँदा शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । बढी प्रोटिन हुँदा शरीरमा असर पर्ने कुनै रोग लागेको छ भने मासु खाने विषयमा नियन्त्रित हुनुपर्छ । रातो र सेतो मासुमा प्रोटिन तथा कोलेस्ट्रोलको मात्रा निकै अन्तर पर्ने भएकाले मासुअनुसार पनि पाचन मात्रा फरक पर्न जान्छ ।