असोज १८, काठमाडौं । ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले तेस्रो दिनमै १०० करोडको व्यापार गरेको छ।
पहिलो दिन बुधबार चलचित्रले ५३.३५ करोडको व्यापार गरेको थियो। जसमध्ये ५१.६० करोड हिन्दीबाट कमाएको हो भने १.७५ करोड तेलगु र तमिलबाट कमाएको हो।
यस्तै चलचित्रले दोस्रो दिन बिहीबार हिन्दीबाट मात्रै २३.१० करोड र तेस्रो दिन २१.३० करोड कमाएको छ।
यस्तै तमिल र तेलगुबाट दोस्रो दिन १.२५ करोड र तेस्रो दिन १.१५ करोड कमाईसहित कुल १०० करोड १५ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।
उनका अनुसार ‘वार’ले तीन दिनमा हिन्दीबाट ९६ करोड र तमिल र तेलगुबाबट ४ करोड १५ लाख कमाएको हो।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक र टाइगरका साथै अभिनेत्री वाणी कपुरको पनि अभिनय रहेको छ। चलचित्र यशराज फिल्मको व्यानरमा बनेको हो।
चलचित्रलाई समीक्षकहरुले उत्कृष्ट भएको बताएका छन्। चलचित्रको एक्सन मात्रै नभएर कथाबस्तु र निर्देशकीय क्षमताको तारिफ गरिएको छ। एजेन्सी