असोज १९, काठमाडौं । दशैंको बिदामा राजधानी काठमाडौंका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।
निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ । दशैंले सबैलाई छोपे पनि केहीलाई भने दशैंभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । लाग्छ, उनीहरुलाई दशैंको छुट्टीको कुनै परवाह छैन ।
राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उनको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौं महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् । ‘त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु पर्यो’, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, ‘सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के ? अनि पो राम्रो हुन्छ त ।’
काठमाडौं महानगरपालिकाको बा१ग ३३९९ नम्बरको ट्याकङ्र उनीहरुको अगाडि रोकियो । भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो । ‘अलिक मिलाएर है, अलिक मिलाएर, ट्याङ्करका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि ! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि’, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार ।
तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उनको आठ जनाको समूह खटिएको छ । ‘सात हजार चपरी त लाग्ला कि ?”, उनले भने, “कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ ।’
दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । ‘चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ’, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न पाउँदा आफूलाई पनि खुशी लागेको बस्नेतको भनाइ छ । ‘दैनिक रु दुई हजारमा पनि कामदार पाउन गाह्रो छ । काम धेरै भए पनि दशैंको टीकाको भोलिपल्टसम्म त सकिएला कि ?’, बस्नेतले अनुमान गरे। शिवपुरी नर्सरी सञ्चालन गर्दै आएका बस्नेतले चाडबाडको समयमा पनि राज्यले दिएको काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताए।
फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पाउँदैछ । काठमाडौं महानगरको संयोजनमा नितान्त नयाँ बन्दै गएको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाइ छ ।
करीब दुई दशकपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कमी कमजोरी नहोस् भनेर सबै खटेका छन् । विश्वमा नै भौतिक पूर्वाधारको विकासमा चमत्कार नै गरेको छिमेकी राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई केन्द्रमा राखेर भइरहेका यावत तयारी हेर्दा लाग्छ, राजधानीलाई सधैंले होइन कामले छापेको छ ।
सडक कालोपत्रे गर्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ । काठमाडौंको तीनकुने पार्क क्षेत्रमा दुबो रोपेर सुन्दर बनाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ ।
यस्तै काठमाडौंको न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको कामसमेत चलिरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । मजदूरहरु दशैं नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भएका छन् । मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ । नगर सजावटको काम भने काठमाडौं महानगरपालिकाले लिएको छ । टीकाको भोलिपल्ट सम्ममा बोटबिरुवा रोप्ने काम सक्ने योजना रहेको तीनकुनेमा फूल रोप्दै गरेका एक मजदुरले जानकारी दिए । सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाका कर्मचारीहरु खटिएका छन् ।
विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरु नेपाल आउँदा यसैगरी सिङ्गार्ने गरिएको थियो । सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन् । सडक विभागले नियमितरूपमा नै गर्दै आइरहेको कालोपत्रे गर्ने कामसमेत गरिरहेको छ ।
चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि सरकारले तयारी थालेको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ भने सरकारी कर्मचारीलाई पनि आवश्यक पर्दा उपस्थित हुन भनिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले उच्चस्तरका विदेशी पाहुन आउने भएमा सोही अनुसारको सुरक्षा दिने गरी तयारीमा रहेको जानकारी दिए।
यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि आआफ्नो क्षेत्रको तयारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि राससलगायत अन्य सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमण आपसी सम्बन्ध र सद्भाव वृद्धि गर्नमै केन्द्रित हुने बताएका थिए ।