“राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्नेछ”: पर्यटनमन्त्री भट्टराई

असाज २६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् ।

बर्सेनि चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने उनले विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन लागेको नेपाल भ्रमण मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण अवसर भएको दाबी गरे । उनले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रूपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेका सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे ।

‘विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवर्द्धनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ । त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो । नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हुँदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन, अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ’, उनले भने ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षका समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणले उक्त उद्देश्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । त्यसका लागि पर्यटन क्षेत्रका निश्चित ठूला बजारबाट पर्यटक आकर्षण गर्नुपर्ने हुन्छ । चीन नेपालको पर्यटनका लागि मुख्य केन्द्र हो । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको छ । चिनियाँ पर्यटकले खासगरी काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा बढी घुम्न रुचाएको तथ्यांकले देखाउँछ । नेपाल बुद्धको जन्मभूमि हो ।

पर्यटनमन्त्री भट्टराईले नेपाल सरकार, जनता र सिंगो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको र उनको दुईदिने राजकीय भ्रमण पूर्णरूपमा सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि शनिबारदेखि काठमाडौंमा छन् । रासस

संम्बन्धित समचार

Leave a Reply