असोज २७, जनकपुर । जनकपुर विमानस्थलमा प्लेन ढिलो आएको भन्दै प्रतिनिधिसभाका सदस्यले विमानस्थलमै तोडफोड गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले प्लेन ढिलो आएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन्।
जनकपुरधामबाट काठमाडौँ जानको लागि विमान स्थल पुगेका सांसद साहले बिहान ११:४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा आक्रोशित भएर विमान स्थलमा तोडफोड गरेका छन्।
जनकपुर विमानस्थलमा दिनहु प्लेन ढिलो गरेर आउने र जाने गरेको छ। यसै क्रममा सोमबार सांसदले करिब दुई घण्टा ढिलो भएपनि नआउँदो आक्रोशमा विमानस्थलमा तोडफोडसँगै बुद्ध एयरका जनकपुर प्रमुखमाथि हातपात गरेका छन्।
उनका अनुसार सोमबारको फ्लाइटमा एकजना किड्नीका विरामी समेत थिए। उनलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएता पनि प्लेन नआएपछि आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिका- ४ बस्ने ६५ वर्षीय किड्नीका विरामी सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि विमानस्थलका व्यवस्थापकहरुलाई पटक-पटक फोन गर्दा पनि यसमा बुद्ध एयरका कर्मचारीहरुले चासो नदिएको तथा विरामीको अवस्थालाई बुद्ध एयरले बेवास्था गरेको भन्दै काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन्।
काठमाडौँ छिटो र सहज तरिकाले पुग्ने उद्देश्यले प्लेनबाट काठमाडौँ जानको लागि विहान ११ बजे विमानस्थल आए पनि दिउसो २ बजेसम्म पर्खिदा विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको आरोप सांसद साहले लगाएको विरामी चौधरीले बताए। उनले भने, ‘मेरो विजोग अवस्था देखेर सांसद ज्यू आवेगमा आउनुभयो। त्यसपछि उहाँ विमानस्थमै सामान्य तोडफोड उत्रिनुभयो।’
यता, बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंहले काठमाण्डौँमा प्राविधिक त्रुटी भएकाले प्लेन आउनमा ढिलो भएको र यस सम्बन्धमा यात्रुहरुलाई जानकारी गराउदाँ पनि सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोड र कर्मचारीसँग दुव्यर्वहार गरेको बताए।
यस घटनापछि जनकपुर विमानस्थलमा केहि समयको लागि अवस्था तनावग्रस्त बनेको थियो। यसका साथै सो प्लेनबाट सांसद जान खोज्दा बुद्ध एयरका कर्मचारी तथा व्यवस्थापकहरुले जानबाट रोकेका थिए।
पछि गएर धनुषाका प्रमुख जिल्ला अधिकारीको पहलमा अवस्थालाई सामान्य गरी दुवै पक्षलाई समझाएपछि सांसद साह काठमाडौँ गएका छन्।