प्रधानमन्त्री कार्यालयले भदौ १ गतेदेखि कार्ययोजना कार्यान्वयनको अनुगमन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ३२,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयको कार्ययोजनाको कार्यान्वयनको अनुगमन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको कार्ययोजनाबारे अनुगमन गर्ने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिएका छन ।
सबै मन्त्रालयका मन्त्री र सचिवले सरकारको नीति तथा कार्यक्रममा रहेर आउने आर्थिक वर्ष २०७५–२०७६ को कार्ययोजना प्रधानमन्त्रीलाई अस्ति पेश गरेका थिए ।

प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा सचिवलाई एक महिना पहिले सरकारको नीति तथा कार्यक्रममा रहेर समृद्ध मुलुक बनाउनका लागि आ–आफ्नो मन्त्रालयको कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए ।

कुँवरका अनुसार भदौ १ गतेदेखि कार्ययोजना कार्यान्वयन भए/नभएको अनुगमन हुनेछ ।
‘प्रत्येक मन्त्रालयमा पनि आ–आफ्ना अनुगमन संयन्त्र रहेका छन् । तर त्यसले मात्र पर्याप्त अनुगमन नहुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गर्नेछ,’ उनले भने, ‘ठूलाठूला योजना प्रधानमन्त्री आफैँले र अन्य आवश्यकता अनुसार सचिव र सहसचिवले अनुगमन गर्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीले पेश गरिएका कार्ययोजनालाई नतिजा निकाल्ने गरी कडाइका साथ कार्यान्वयन गर्नसमेत निर्देशन दिएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कुँवरले बताए ।
प्रधानमन्त्री ओलीले आव २०७५–०७६ को बजेट साउन १ गतेदेखि कार्यान्वयन गर्न र आव २०७६–०७७ को बजेट पनि साउन १ गतेदेखि नै बनाउनका लागि सबै मन्त्रालयलाई निर्देशन दिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस