असोज ३०, धनुषा । धनुषामा स्कुलको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा ७ वर्षीया बालिका चञ्चला सदा रहेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए। यस्तै ६ वर्षीय बालक मो. समीर साफी घाइते भएका छन्।
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नं ४ मा रहेको के.एस.एच.बि स्कुल खजुरीको बालकक्षा कोठामा पढ्दै गरेको अवस्थामा स्कुलको पर्खाल भत्किँदा दुबै जना घाइते भएका थिए।
पर्खाल भत्किँदा गम्भिर घाइते भएका उनिहरुलाई उपचारको लागि जनकपुरको अञ्चल अस्पताल लगिएपनि चञ्चलालाई डाक्टरले मृत घोषणा गरेको प्रहरी उपरीक्षक खनालले बताए। घाइते भएका समीरको उपचार भइरहेको उनले बताए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।