दुई दशकदेखि बन्द मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ कार्तिक ३, आईतबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले ५० सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताएको छ ।

चार दिनअघि कञ्चनपुर पुगेको टोलीले बन्द अवस्थामा रहेको विमानस्थलको स्थलगत प्रतिवेदन तयारी गरी शनिबार सो निचोड सार्वजनिक गरेको हो ।

टोलीका प्रमुख रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीका ईन्जिनियर गुरुदत्त अधिकारीले मझगाउँ विमानस्थलमा जहाज सञ्चालन गर्दा समस्या नहुने बताए । “पचास सिट भन्दा बढी क्षमताको जहाज चलाउन थप केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ”, उनले भने । विमानस्थलसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई असर पर्ने वा नपर्ने विषयमा पनि सो टोलीले अध्ययन गरेको छ ।

निकुञ्जका वन्यजन्तुलाई प्रभाव पर्ने विषयमा आवश्यक छलफल गर्नुपर्नेमा उनले जोड दिए । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली यहाँ आएको हो ।

स्थलगत अनुगमन तथा विमानस्थलको अवस्थाबारे टोलीले मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जनाएको छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ–चौडाइलगायतको प्राविधिक तथा अन्य विषय प्रतिवेदनमा समेटेको छ ।

पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले मझगाउँ विमानस्थल उपयुक्त ठाउँमा रहेको र रन वे कालोपत्र बनेको खण्डमा जस्तो सुकै अवस्थामा पनि विमानस्थल सञ्चालन गर्न गाह्रो नहुने बताए । साना जहाज नेपालको हरेक क्षेत्रमा एक हजार पाँच सय मिटर रन वेमा सञ्चालनमा रहेको उनको भनाई थियो ।

“अहिलेकै रन–वेमा ठूला जहाज अवतरण गर्न समस्या छैन”, उनले भने, “विमानस्थलको मर्मतसम्भार र पूर्वाधार निर्माणमा जोड दिए विमानस्थल चाँडै सञ्चालनमा आउन सक्छ ।” पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, सांसद डा. दिपकप्रकाश भट्ट, प्रदेशसभा सदस्य मानबहादुर सुनार र भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायतको सहभागिता थियो ।

विमानस्थल पुनः सञ्चालनका लागि पूर्व जिल्ला वन अधिकृत रमेश चन्दको नेतृत्वको टोलीले लामो समयदेखि दबाब दिँदै आएको छ । विमानस्थल पुनः सञ्चालनका लागि गठित संघर्ष समितिले केही महिनायता विमानस्थल सञ्चालनका लागि स्थानीय तहदेखि सङ्घीय सरकारसम्म दबाब दिँदै आएको छ ।

विमानस्थल संरक्षण एवम सञ्चालनका लागि सहयोग पुगोस् भनेर चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु. २० लाख बजेट विनियोजनसमेत गरेको छ । झण्डै ६५ विघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार ६ सय ६५ मिटर तथा चौडाइ पाँच सय मिटर रहेको छ । विसं २०५६ देखि विमानस्थल बन्द छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस