“कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्‍याउनुपर्ने रहेछ”: गायक दुर्गेश थापा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक ५, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाडौं । तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।

अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए। उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्‍याउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस्,’ उनले सञ्चारकर्मीमाझ भनेका थिए। उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी मागेका थिए।

थापाले कलाकारहरुले गीत तयार गर्ने क्रममा सावधानी अपनाउनुपर्ने पनि सञ्चारकर्मीमाझ बताएका थिए। आफूले गरेको गल्ती अरुबाट नहोस् भन्ने आफूले चाहेको जानकारी पनि उनले गराएका थिए।

विवादमा आएपछि गायक दुर्गेश थापाले आफ्नो उक्त गीत युट्युबबाट हटाएका थिए। ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक थापाले सार्वजनिक रुपमा माफी मागेपछि उनलाई छाडेको हो। गायक थापाले नराम्रा शब्दहरुलाई ‘बीप’ गरेर फेरि उक्त गीत ल्याउने जानकारी दिएका थिए।

जिल्ला प्रशासन कार्यालयले उनीबिरुद्ध उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न आग्रह गरेको थियो। दुर्गेशलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएर महाशाखा ल्याएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस