कार्तिक ७,काठमाडौँ । धानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन्। असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन्। मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो।
प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए। भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो। भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले विज्ञप्ति निकालेका थिए।
नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मुडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ। वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन।
ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्। सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ। १७ औं शिखर सम्मेलनमा पनि भारतले उपराष्ट्रपति नै पठाएको थियो। यो सम्मेलनमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए।