कार्तिक ७,झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले देशमा आर्थिक बिकास चाहिएको बताएका छन। तर आर्थिक विकासका लागि आन्दोलन र जुलुसले नहुने उनको भनाई छ।
नेकपा झापाले बिहीबार विर्तामोडमा आयोजना गरेको दिपावली शुभकामना, सम्मान तथा देउसी भैलो कार्यक्रममा बोल्दै अहिलेको जस्तै नेपाली विदेशिने वातावरण भइरहने हो भने नेपाली सुखी नहुने उनले बताएका छन्।
नेकपा नेता पाण्डेले विदेशमा रहेका छोरा छोरी जबसम्म घरमै बसेर रोजगारी गर्ने वातावरण बन्दैन तबसम्म परिवारमा कोही पनि खुशी हुन नसक्ने बताए। उनले भने, ‘चाडवाडमा पनि परिवारका सदस्यहरुको मिलन हुँदैन भने त्यो परिवार खुशी हुन्छ ?’
हालमा देशमा जे गर्नुपर्ने हो त्यो गर्नका लागि आफ्नो दलले सिक्न नसकेको उनले बताए। पाण्डेले भने, ‘विगतमा जे चाहिएको हो त्यो सिक्यौं। तर अहिले जे चाहिएको हो त्यो सिकेनौं।’
उनले भने,’अहिले हामी नयाँ पाठशालामा आएका छौं। राम्रो अध्ययन गरेनौं भने फेल पनि हुन्छौं।’ गरिबी हटाउने अहिलेको प्रमुख एजेन्डा हुनुपर्ने उनले बताए।