पर्यटक लोभ्याउन नुनथलामा आँखा आकारको पोखरी !

Post Thumbnail

साउन १,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ ।

हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो ।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाइ ३२ मिटर रहेको छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको पोखरीको दाँया र बाँया पानीको फोहोरा छोडिने र पोखरीमा रंगीन माछा राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए ।

गत फागुनदेखि निर्माण शुरु गरिएको पोखरीमा अहिले पानी चुहिन नदिन पनिङ प्लाष्टर, कलरिङ तथा पोखरी कम्पाउण्ड बाहिरको फलामको डण्डी, जाली वेल्डिङ, मुख्य गेट निर्माणको काम भइरहेको छ । ब्रिज डाइनिङको माथिबाट सेन्सर बिजुली बत्ती र डिजिटल बोर्ड राखिने उपभोक्ता समितिले जनाएको छ ।

पुरानो आहाललाई परिमार्जित गर्दै बनाइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी हाल्ने र फोहर भएपछि पुनः परिवर्तन गर्ने तयारी गरिएको छ । महुरेगढीमा मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्नेको भीड लाग्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस