कार्तिक १४, जनकपुर । तराई–मधेसको सबैभन्दा ठूलो पर्व छठ बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ। चार दिनसम्म मनाउने छठको पहिलो दिन बिहीबार जीउ शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ ।
जनकपुरधामसहित तराई मधेसमा छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन् । ‘मरुवा’ (कोदो), ‘मसोरोको दाल’ लगायत प्याज लसुन बिहीबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नु पर्छ ।
छठका लागि घाटको सरसजावटमा स्थानीयहरु जुटेको छ । पोखरी, नदी, कुवा लगायतका स्थानलाई सिंगारिँदै छ । खास गरेर जनकपुरधाममा नेपालमै उत्कृष्ट छठ हुने भएकाले यहाँका पोखरीहरुलाई दुई हप्ता पहिलादेखि सजाउन थालिन्छ ।
त्यस्तै छठको दोस्रो दिन शुक्रबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरु खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ । खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाउने गरिन्छ ।
त्यस्तै छठको मूल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ । बिहानीको अर्घ्य दिएपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।