कार्तिक १४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डौ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलिसकेकाे छैन ।
शंकरापुर नगरपालिका ४ को लप्सीफेदी नजिक बस दुर्घटना हुँदा अन्य २५ जना घाइते भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ ।
हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दुई जना महिला र एक जना पुरुष रहेकाे र दुर्घटनाबारे थप विवरण आउने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
ओरालोमा अनियन्त्रित भइ बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भैरहेको छ ।