सकिएन आलमको बयान, भोली पनि जारी

कार्तिक २०, रौतहट । विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग लागेका सांसद मोहम्मद अफताब आलमसँग रौतहट जिल्ला अदालतले बयान लिइरहेको छ। मंगलबार अपरान्हबाट सुरु भएको बयान दोस्रो दिन पनि नसकिएको जनाइएको छ।

अदालत स्रोतका अनुसार अदालतले आलमसँग ३१ प्रश्न सोधेर जवाफ लिइसकेको छ। ‘बाँकी थप केही प्रश्नको जवाफ बिहीबार लिइने छ। त्यसपछि थुनछेक बहस सुरु हुने छ’, अदालत स्रोतले भन्यो।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले बम बनाइरहँदा भएको विस्फोटमा घाइते भएकालाई नजिकैको इटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग छ।

रौतहट प्रहरीले घटनाको १२ वर्षपछि आलमलाई केही साता अघि पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको छ। हालसम्म आलम मात्र पक्राउ परेका छन्।

मतदातालाई तर्साउने उदेश्यले आलमकै योजनामा बम बनाउने काम भएको अनुसन्धानबाट खुलेको छ। त्यस निर्वाचनमा आलम निर्वाचित भएका थिए। कति जनालाई त्यसरी मारिएको थियो भन्ने तथ्यांक यकिन छैन। तर सोही ठाउँबाट हराएका दुई युवाका आफन्तले आलमसहितविरुद्ध किटानी जाहेरी दिएका थिए।

संम्बन्धित समचार

Leave a Reply