एसियाली खेलकूद : चार नयाँ खेलमा नेपालको सहभागिता , अहिलेसम्मकै बढी २८ खेल समावेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण २, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।

इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो ।

एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन ।

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ ।

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएकोे जानकारी गराउँदै उनले भने, “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।”

उनले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताए ।

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस