नेपाली कांग्रेसका नेताहरुद्वारा सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज उठाउन कार्यकर्ताहरुलाई आह्वान

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, झापा । नेपाली कांग्रेसका नेताहरुले नेपालको सीमा अतिक्रमणविरुद्ध लड्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

भारतको नयाँ नक्सामा नेपालका सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा तथा कालापानी गाभिएपछि उनीहरुले सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज उठाउन कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतले विगतदेखि पूर्वदेखि पश्चिमसम्म सीमामा प्रभुत्व जमाएकाले त्यस्काविरुद्ध जोडतोडका साथ आवाज उठाउनुपर्ने बताए।

उनले भने, ‘हाम्रा सीमा क्षेत्रमा हाम्रो उपस्थिति छैन। विगतमा हाम्रा पनि कमजोरी भएकै हुन्। अब सीमा अतिक्रमणविरुद्ध बोल्ने माहोल बनेको छ। यही बेला सरकारले कुटनीतिक पहल गर्नुपर्छ।’

पौडेलले नेपाल सरकारले सीमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिए।

दुईतिहाई बहुमतको सरकार हुँदा पनि नेपालको विकास र दीर्घकालीन योजनाका लागि लगानी नभित्रिएको बताउँदै उनले समृद्धिको लक्ष्य पूरा नहुने नेता पौडेलले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सीमा अतिक्रमणका विरुद्ध कांग्रेसका नेता तथा कार्यकर्ता गोली खान तयार रहेको बताए।

उनले भारतले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई पुतलीको संज्ञा दिए। उनले भने, ‘न सही गर्ने मान्छे पद छ न कुनै छाप। सही पनि पुतलीजस्तो। के यही हो हाम्रो परराष्ट्र नीति?’

उनले पूर्वदेखि पश्चिमसम्म सडक संघर्षमा कांग्रेसका कार्यकर्ता उठ्नुपर्ने बताए।

पार्टी विधिमा चलेन

कार्यकर्ता भेटघाट कार्यक्रममा उपस्थित केन्द्रीय नेताहरुले नै नेपाली कांग्रेस विधि र प्रक्रियामा नचलेको बताए।

कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीले देशमा उठिरहेका कतिपय महत्वपूर्ण सवालहरुमा ध्यान नदिएको धारणा राखे।

उनले भने, ‘मिडिया काउन्सिल विधेयकदेखि सी विचारधारासम्मका कुरा देशमा चलिरहेका छन्। यी कुरामा अध्ययन गर्नु पर्दैन? हाम्रो देश र जनताको हितमा छन् यी कुरा भनेर पार्टीको धारणा बनाउनु पर्दैन?’

उनले महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीका भातृ संगठनहरुलाई व्यवस्थित गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरे।

नेता धनराज गुरुङले शीर्ष नेताहरुको झगडाले पार्टी र कार्यकर्तामा राम्रो सन्देश नगएको भन्दै मिल्न सचेत गराए।

ताजा अपडेट

खोजी गर्नुहोस