साउन ३,काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षबाट भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिन थालेपछि भारतसहित तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र माछामासु महंगिन थालेको छ । केही दिनभित्रै आयात हुने कृषिवस्तुको बजार मूल्य उच्च हुने दावी ब्यापारीहरुले गरेका छन् ।
साउन १ पछि भन्सार छुटेका धेरै कृषि वस्तु बजारसम्म आइसकेको छैनन् । ती वस्तु बजारमा आउनासाथ एकसाथ धेरै प्रकारका तरकारी तथा फलफूलको मूल्य ह्वात्तै बढ्ने अवस्था देखिएको हो ।
साउन १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार तरकारी, फलफूल र खसीबोका, राँगा, माछा भित्र्याउँदा आयातकर्ताले ५ प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ ।
यसअघि यस्तो आयकर ब्यापारीहरुले कारोबारका आधारमा किस्ता–किस्तामा तिर्दै आएका थिए ।
तर, व्यापारीहरुले ठूलो मात्रामा वस्तु आयात गर्ने र त्यसअनुसार आयकर नबुझाएको भन्दै बजेटमार्फत अग्रिम आयकर लागू गर्ने घोषणा गरेको छ । अब आयातकर्ताले विलविजकमा देखिने कारोबार ५ प्रतिशत अग्रिम आय कर भन्सारमै बुझाउनुपर्छ ।