नेपाल घुम्न आएका ५ विदेशी पर्यटकलाई सीमा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गर्याे

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २, झापा । नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई झापाको सीमा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको छ।

झापाको कचनकवल गाउँपालिकास्थित सीमा क्षेत्र केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेका ३ पुरुष र २ महिला युक्रेनी नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

बाटो बिराएर नेपालको सीमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको छ।

पक्राउ परेकामा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन्।

उनीहरु झापाको बनियानीस्थित होली फिल्ड स्कूलमा स्वयंसेवक रहेका २ जना साथी भेट्न बुधवार त्यहाँ पुगेका थिए। मोटरसाइकलमा चढेर केचना घुम्न निस्किएका उनीहरु बाटो बिराएर करिब ५० मिटर भारततर्फ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका नागरिकलाई भारतीय प्रहरीले मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नेपाल प्रहरीले उनीहरुलाई छुटाउन प्रयास गर्दा भारतीय प्रहरीले माथिल्लो निकायमा जानकारी गराइसकेको जवाफ भारतीय पक्षले दिएको उनले बताए।

श्रेष्ठले भने, ‘छुटाउन धेरै प्रयास गर्यौं तर सकिएन। भारतको अध्यागमन कानुन अनुसार कारवाही हुने भारतीय पक्षले बताए।’

पाँचै जना नागरिक १५ दिने भिजामा एकसाता अघि नेपाल आएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस