साउन ३,काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ ।
आसन्न आमनिर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई सम्वेदनशील मतदान केन्द्र भनी घोषणा गरिएको हो । आयोगले देशभरमा ८५ हजार ३०७ ओटा मतदान केन्द्र तोकिएको जानकारी दिएको छ ।
यही जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पाकिस्तानमा सो निर्वाचनमार्फत देशका सबै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधि चयन हुनेछन् ।
ती मतदान केन्द्रहरू देशको उत्तरपश्चिमी खैबर पाख्तुङ्ख्वा प्रदेशमा सवैभन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको अधिकारीले बताएका छन् । त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ केन्द्रलाई सम्वेदनशील घोषणा गरिएको छ । विद्रोही समूह, राष्ट्रवादी र लडाकू समुहबाट विभिन्न प्रकारका आक्रमण हुनसक्ने खतरा आँकलन गरेर सम्वेदनशील मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
त्यसैगरी देशको पञ्जाव प्रदेशमा यस्ता मतदान केन्द्रको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा केन्द्र रहेका छन् ।
ती केन्द्रमा अन्य जिल्लाको तुलनामा सुरक्षा व्यवस्थालाई कडा पारिने जानकारी पाकिस्तान सरकारले दिएको छ । ती क्षेत्रमा बढी सुरक्षा कायम गर्न निर्वाचन आयोगले पनि माग गरेको हो ।