साउन ४,बाँके । नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराबाट शनिबार शिलान्यास गर्ने भनिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको नयाँ निर्माण गर्न लागिएको भवनको सभामुख महराले शनिबार शिलान्यास गर्ने कार्यक्रम छ ।
डा. गोविन्द केसीका जायज माग सम्बोधन नभएसम्म कुनैपनि सरकारी व्यक्तिको उपस्थितिमा कार्यक्रम नगर्न नेविसंघले अनुरोध गरेको छ । अनुरोध अटेर गरेको खण्डमा प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका कार्यबाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटाले शुक्रबार विज्ञप्ति जारी गरी नेपाली कांग्रेस देशव्यापी आन्दोलनको मोर्चामा रहेको अवस्थामा क्याम्पस हाताभित्र कुनैपनि कार्यक्रम नगर्न पटक–पटक अनुरोध गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण क्याम्पसको प्रशासन र लेखा शाखामा तालाबन्दी गरिएको उल्लेख गरिएको छ ।
पूर्व शिक्षक समेत रहेका महरा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका पूर्व विद्यार्थी समेत हुन ।