-राज ढुंगाना
मंसिर ११,काठमाडौँ । धार्के–सितापाईला सडक खण्डको निर्माणमा ढिलासुस्ती भएपछि सामुहिक छलफल भएको छ । धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ का सांसद राजेन्द्र प्रसाद पाण्डेको अगुवाईमा राजधानीमा मंगलबार भएको छलफलमा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, नुवाकोट डिभिजन सडक कार्यालयका ईन्जिनियर निरज शाक्य, निर्माण व्यवसायी होमनाथ गौतम,शिबराम भण्डारी,सुरेश लामा लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
छलफलमा नेता पाण्डेले धार्के सितापाईला सडकको काम कुनैपनि हालतमा तत्काल सुरुवात गर्न निर्देशन दिएका थिए । उनले बजेटको अभाव नहुने भन्दै सो को व्यवस्था आफुले प्रदेश वा केन्द्र जहाँबाट भएपनि व्यवस्थापन गर्ने बताए । उनले अबपनि जनतालाई ठेकेदारले ढाँटे जनता स्वयमले कारवाही गर्ने चेतावनी दिए ।
उनेल भने–’ठेकेदारलाई काम गर्ने वातावरण बनाउन हामी सहयोग गछौँ,कसैले कुनै किसिमबाट असहयोग वा अवरोध गरे मलाई भन्नुस् ।’ नेता पाण्डेले अबपनि कुनै बहानामा सडक निर्माणको काम रोकिए आफै जनताको साथ लागेर काम नगर्ने ठेकेदारलाई कालोसुचीमा राख्न लागि पर्ने बताए ।
नगरप्रमुख आचार्यले ठेकेदारको सात्तो लिए
यसैगरी धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले ठेकेदारले स्थानीय सरकारसंग कुनै किसिमको सहकार्य नगरी जनतामा करको भ्रम छरेर हिँडेको बताए । ठेकेदारकै अघि उनले भने–तपाईहरु कम गर्नुस्,नगरपालिकाले कर लियो,मेयरले पैसा लियो भन्दै बदनाम गरेर नहिड्नुस् । उनले कामै नगरी बेतुकको कुरा गरेर जनतामा भ्रम फैलाउने छुट कसैलाई नभएको बताए ।
उनले भने–’तपाईहरु सक्दिन भनेर हात उठाउनुस्, सम्बन्धित निकायले ठेक्का रद्ध गरेपछि नगरपालिका आफै सडक निर्माणमा लाग्न सक्षम छ, यसको अगुवाई म गर्छु,’ नगरप्रमुख आचार्यले सडक ओगटेर बस्ने तर विभिन्न बहाना देखाएर काम नगर्ने प्रवृती विरुद्ध नगरपालिका टुलुटुल हेरेर बस्न नसक्ने बताए । आचार्यले ठेकेदारकै लापरवाही र काम नगरपछि नगरपालिका र स्थानिय उद्योगबाट सहयोग लिएर झण्डै ४० लाखको काम गरेको बताए । ठेकेदार शिवराम भण्डारी प्रति आक्रोशित हुँदै आचार्यले भने–’तपाईहरु काम पनि नगर्ने,उल्टै नगरले हालेको ग्राभेलमाथी लगेर हिलो थुपार्ने ? यस्तो प्रबृतीले तपाईको सही नियत भएन् ।’
छलफलको क्रममा डिभिजन सडक कार्यालय नुवाकोटका ईन्जिनियर निरज शाक्यले अवपनि ठेकेदारले लापरवाही गरिरहे ठेक्का म्याद थप्न नसकिने बताए । उनले भने–’तपाईहरु काम गर्नुस,हामी लाईन दिन तयार छौँ,तर बहाना गरेर तर्किन खोजे ठेक्का रद्ध हुन्छ,नयाँ टेण्डर प्रक्रियामा हामी जान तयार हुनुपर्छ ।’
उनले कोशी एण्ड न्यौपाने निमाृण कम्पनीको म्याद यही मंसिर महिनासम्म रहको बताए । उनले गरेको काममा भुक्तानीको कुनै समस्या नहुने बताए । अब म्याद थप गर्न प्रक्रिया पुर्याएर, तोकिएको समयमा काम सक्ने प्रतिबद्धता ल्याएमात्रै म्याद थप्न सकिने बताए ।
डुबेको कम्पनी गौतमले किनेपछि काम हुने विश्वास
धार्के–सितापाईला सडक खण्डको निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कम्पनी निर्माण व्यवसायी होमनाथ गौतमले खरिद गरेका छन । उनले सो कम्पनी टाट पल्टिएपछि खरिद गरेका हुन । छलफलको क्रममा गौतमले आगामी सोमबारबाट काम शुरु गर्ने बताएका छन । कम्पनी खरिद गरेपछि आफुलाई धार्के–सितापाईला सडकको निर्माण ठेक्का सोही कम्पनीले लिएको भन्ने थाहा नपाएको बताउदै अव आएको जिम्मेवारी पुरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले साँढे दुई महिनामा काम सकाउने बताए । अबको काम धार्के–सितापाईला सडक अन्तर्गत ठुलोखोलाबाट सुरु हुनेछ । कोशी एण्ड न्यौपाने कम्पनीले सो सडकको ८३ प्रतिशत काम सकाएको छ । उसले ग्याभिनवाल,आवश्यक ठाँउमा नाली ,ग्राभेल ,कटिङ ,रिटेनिङवाल,क्रसडे«नको जिम्मा लिएको हो । जसमध्ये अव १७ प्रतिशत काम हुन बाँकी रहेको छ । यसअघि कोशी एण्ड न्यौपाने कम्पनीको तर्फबाट काम गर्दै आएका सुरेश लामालाई सोही कम्पनीले ९४ लाख भुक्तानी दिन बाँकी रहेको छ ।
धार्के–सितापाईला सडक अन्तर्गत नै दोस्रो प्याकेजको कामको जिम्मा लिएका अर्का ठेकेदार शिबराम भण्डारीले ह्विम पाईप राख्ने,हेडवाल बनाउने,ग्राभेल र २ वटा कजवेको निर्माण पनि यसैसाता सुरु गर्ने बताएका छन । उनले आगामी १५ गतेदेखि काम सुरु गर्ने बताए । भण्डारीको कम्पनी खड्का कृष्ण दिव्यज्योती रोजन जेभीले सडक कार्यालयले लाईन क्लियर गरेपछि आफुलाई काम गर्न सहज हुने बताए ।
साँढे सात किलोमिटर आस्फल्ट कालोपत्रे हुने
धार्के–सितापाईला सडक अन्तर्गत धादिङ खण्ड ठुलोखोला देखी धार्केसम्मको दुरी १३ कि.मी रहेको छ । सो सडकमा रमेश श्रेष्ठको नाना कन्ट्रक्सन प्रा.लीले पनि काम सकाउन बाँकी रहेको छ । छलफलको क्रममा श्रेष्ठले आफुले पाउनुपर्ने १ करोड २० लाख रुपैया नपाएको बताए । श्रेष्ठले पनि आफुले पाउनुपर्ने पैसा प्राप्त गरेपछि तत्काल काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनको उनले गरेको कामको पनि स्टेटमेन्ट क्वान्टिटी भेरिएसन स्विकृत हुनासाथ भुक्तानी हुने ईन्जिनियर शाक्यले बताए । यस आर्थिक बर्षको जेठ मसान्तसम्म ठुलोखोलादेखी साँढे सात किलोमिटर आस्फल्ट कालोपत्रे हुने ईन्जिनियर श्रेष्ठले बताए । सोही क्रममा पिचको चौडाई साँढे पाँच मिटर हुने उनले बताए ।
छलफलको क्रममा धुनिवेशी वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णकुमार रेग्मीले हिँउदको धुलो र बर्षाको हिलोले नागरिकले सास्ती पाएको भन्दै जनताको जनदवाव आफुलाई चौविसै घण्टा आएको भन्दै कुनैपनि हालतमा काम तत्काल सुरु गरेर समयमा सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण कम्पनीलाई वडाको तर्फबाट हुने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए ।