धादिङका सामुदायिक बिद्यालयमा दिवा खाजा : अभिभावकमा आर्थिक भार कम,बिद्यार्थी नियमित बिद्यालयमा

Post Thumbnail

-सन्तोष सुवेदी
मंसिर १५,धादिङ । नेपाल सरकारले सामुदायिक बिद्यालयमा दिवा खाजाको ब्यबस्था गरेसँगै धादिङ जिल्लामा शिक्षामा आकर्षण बढेको शिक्षक तथा सरोकारवालाको बुझाई छ । “सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्य्विधि २०७५”लागू गरिएसँगै धादिङ जिल्लाका ५ सय ६४ वटा सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।

दिवा खाजा कार्यक्रमले अभिभावकमा आर्थिक भार कम परेको छ भने बिद्यार्थीहरु नियमित बिद्यालयमा उपस्थित हुने गरेका छन् । पुर्ब प्राथमिक कक्षा देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई नेपाल सरकारले दैनिक १५ रुपैयाँका दरले १ सय ८० दिन खाजाको ब्यबस्था गरेको छ । खाजा कार्यक्रम स्थानिय तह अन्तर्गत हुँदै आईरहेको जिल्ला शिक्षा कार्यालय धादिङका शिक्षा अधिकृत अम्बिका प्रसाद आचार्यले बताए ।

धादिङ जिल्लामा रहेका ५ सय ६४ सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भईरहेको छ । दिवा खाजा कार्यक्रम सबै सामुदायिक बिद्यालयमा नपुगेको पाईएकाले कार्तिक ३ र ४ गते धादिङका सम्पुर्ण सम्बन्धित शिक्षकहरुलाई भेला गराएर खाजा कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिईएको शिक्षा तथा समन्वय ईकाई धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

दिवा खाजा कार्यक्रमले बिद्यार्थीहरुको पढाईमा समेत गुणस्तर बृद्धि भएको थाक्रे गाउँपालिका वडा नम्बर २ मा रहेको लिलाकाली माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजन अर्यालले बताए । “खाजा कार्यक्रम सञ्चालन भईसकेपछि हाम्रो बिद्यालयमा बिद्यार्थीहरु नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जँगफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ,”प्रधानाध्यापक राजन अर्यालले भने “एउटै घरबाट ठुलो कक्षा र सानो कक्षामा आउने बिद्यार्थीहरुको लागी खाजा छुट्याएर दिँदा समस्या पर्ने गरेको छ ।”

सामुदायिक बिद्यालयमा दिवा खाजाको ब्यबस्थाले बिद्यालय उमेरका बालबालिकाहरुलाई भर्ना दरमा बृद्धि गराउने, शिक्षाको पहुँचमा आधारभूत तहको शैक्षिक पहुच सुनिश्चितता गर्ने, बिद्यार्थीहरुको पोषणको बिद्यमान स्थितीमा सुधार ल्याउने, बिचमै बिद्यालय छाड्ने प्रबृत्तिमा कमी ल्याउने, नियमित उपस्थितीमा जोड दिने लगायतका उपलब्धि हासिल गर्न सकिने नेपाल सरकारको बुझाई छ ।

धादिङ्कै थाक्रे गाउँपालिकामा एक वटा धार्मिक बिद्यालय सहित जम्मा ४४ वटा सामुदायिक बिद्यालयहरु रहेको थाक्रे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । “म आफैले पनि बिद्यालय अनुगमनमा जाँदा अनुभव गरेको छु, दिवा खाजा कार्यक्रम बिद्यार्थीहरुको लागी निकै प्रभावकारी छ, बिद्यार्थीहरु पनि नियमित आउने गरेको पाईएको छ”, अधिकृत पौडेलले भने “साना बालबालिकालाई आकर्षणका रुपमा नेपाल सरकारले ब्यबस्था गरेकोले पुर्ब प्राथमिक कक्षा देखि कक्षा ५ भन्दा माथीका बिद्यार्थीहरुको लागी खाजाको ब्यबस्था गरिएको छैन ।”

दिवा खाजाको प्रभावकारिता भएपनि अहिले कतिपय बिद्यालयमा बिद्यार्थीहरुको सँख्या भने न्युन रहेका छन् । आधारभूत तह सञ्चालनमा रहेको अधिकाँस बिद्यालयहरुमा बिद्यार्थीहरुको सँख्या न्युन रहेको छ । यस्ता बिद्यालयहरुलाई अन्य नजिकको बिद्यालयमा मर्ज गर्ने चर्चा चले पनि पुर्ण रुपमा कार्यान्वयनमा आएको छैन । साथै कतिपय बिद्यालयहरु भने मर्ज भईसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस