१३ औँ साग: दशरथ रंगशालामा भव्य उद्घाटन

मंसिर १५, काठमाडौं । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को भव्य उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबीच आइतबार (आज) सागको उद्घाटन गरेकी हुन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पञ्चकन्याहरुले स्वागत गरेका थिए। साधारण प्याराफिटतर्फबाट ब्यान्ड टोली र मैदानबाट पञ्चेवाजाको धुनसँग राष्ट्रपति भण्डारीको स्वागत गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भीआईपी प्यारापिटतर्फ बस्ने ठाउँलाई फुलमालाले सिँगारिएको छ। रंगशाला भित्र र बाहिर सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। दर्शकदिर्घामा समेत प्रहरीहरु सुरक्षा व्यवस्थापन गरिरहेका छन्।

रंगशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकले १३ औँ सागलाई स्वागत गरेका छन् भने प्रतियोगितामा सहभागी भएका देशका खेलाडी र अफिसियलले मार्चपास गरेका छन्।

रंगशालाका चारवटै फर्ड लाइट बालिएका छन्। रंगशालालाई उद्घाटन समारोहले छपक्कै छोपेको छ।

सागको उद्घाटन समारोह हेर्न आएकाहरुले प्याराफिट भरिएको छ। रंगशालामा भीभीआईपी, भीआईपी, सर्वसाधारण, पत्रकार लगायतलाई छुट्टाछुट्टै बस्ने स्थानको व्यवस्था गरिएको छ। रंगशाला बाहिर पनि मानिसहरुको भिड देखिएको छ।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा प्रवेश निशुल्क भनिए पनि पास बिना छिर्न दिइएको छैन। निशुल्क प्रवेश पाउने आशले आएका दर्शक रंगशालाको मुलगेट बाहिरै रोकिएका छन्।

सागमा २८ खेल समावेश गरिएको छ। जसमध्य एक खेल जनकपुरमा, ८ खेल पोखरामा र बाँकी खेल काठमाडौँमा हुनेछन्। सागमा सात देशका ३ हजार भन्दा बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ८ सय ८१ कास्यपदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको हो।

पहिलो पटक सन् १९८४ मा नेपालबाट सुरुभएको साग नेपालले तेस्रो पटक आयोजना गरेको हो। नेपालले दोस्रो पटक सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो।

संम्बन्धित समचार

Leave a Reply