सीता स्वयम्बरसहित रामसीता विवाह भव्य रुपमा सम्पन्न

मंसिर १६, धनुषा । राजा जनकको दरबारमा सीता स्वयम्बरसहित रामसीता विवाह आइतबार सम्पन्न भएको छ।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसकै स्मरणमा यस वर्ष पनि वैवाहिक समारोह मनाइएको हो।

अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो। ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।

स्वयम्बर समारोह सम्पन्न गरी राम र सीताको डोला जानकी मन्दिरमा फर्काइएको थियो। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको हो। मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव सीताका अभिभावक र राम मन्दिरका महन्थ रामगिरी रामका अभिभावक बनी सहभागी भए।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको थियो। राष्ट्रिय बिदा घोषणाको माग जनकपुरवासीले गर्दै आए पनि सुनुवाइ भएको छैन।देश–विदेशबाट आएका लाखौं पाहुनाले जनकपुर भरिभराउ बनेको छ।

भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलखा मन्दिर बनाएकी थिइन्। मुगल शैलीमा बनेको यस मन्दिरको ६० वटा कक्ष अतिथिले भरिभराउ छन्।

कतिपय कोठा उपहारले भरिएका छन् भने कतिपयमा पकवान र खानेकुरा छन्। २ सयभन्दा बढी भान्से पकवान बनाउन व्यस्त छन्। जन्ती बिदाइका लागि जोहो गरिएका उपहारले चार कोठा भरिएका छन्। मन्दिरका कुना–कुना रंगीबिरंगी फूलले सजाइएको छ। बिजुलीले मन्दिर झकिझकाउ पारिएको छ।

सीता र रामको विवाह यहीं विवाह भएको मानिन्छ। छोरीको विवाहका लागि जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयम्बर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको उल्लेख पाइन्छ। रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्।

संम्बन्धित समचार

Leave a Reply