मंसिर १७, तनहुँ । भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो ।
शिक्षिकाको छोराको बिहे परेको र उनले आग्रह गरेकाले एक दिनका लागि विद्यालय बन्द गरेको प्रधानाध्यापक सूर्य मिश्रले बताए । उनका अनुसार कर्मचारी बैठक बसी विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
‘विद्यालय र भोजभतेर गर्ने ठाउँ नजिकै छ । भोजभतेर गर्ने ठाउँ नजिक भएकाले विद्यार्थीको पढाइमा असर पर्ने ठान्यौँ, त्यसकारण स्टाफ बैठक बसी विद्यालय बन्द गरिएको हो । हिँउदे बिदामा कट्टी हुने गरी बिदा दिएका हौँ,’ उनले भने । बिहेमा बाजा बजाउँदा पढाइमा समेत असर गर्ने भएकाले विद्यालय बन्द गरिएको मिश्रको भनाइ छ ।
शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द गरेको विषयमा आलोचना भएको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।