जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग प्रदान

मंसिर १७,काठमाडौँ । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरे । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्वप्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरे । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि वैद्यनाथ वेद विद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिनेछ ।

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि मंसिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक लिमिटेड रु. २४ अर्ब भन्दाबढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दाबढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply