भ्रमण वर्ष २०२० को स्वागत : सांसद बस्नेत सहितको टोलीले सुनकोसीमा गर्यो जलयात्रा

Post Thumbnail

मंसिर १७,सिन्धुपाल्चोक । नेपाल सरकारले नेपालमा आगामी वर्ष सन् २०२० लाई २० लाख पर्यटकलाई नेपाल भित्र्याई ‘भ्रमण वर्ष २०२०’ को रुपमा मनाउने तिव्र तयारी गरिरहेको छ । यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले भ्रमण बर्षको भब्य स्वागत गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख अतिथ्यता तथा प्रदेश सांसद सरेश नेपाल, स्थानीय जनप्रतिनीधि र राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकताको साथमा गाउँपालिकाभित्रका करिव दुई सयभन्दा बढी स्थानीयलाई एकैसाथ जलसयर गराउँदै भ्रमण बर्षको स्वागत गरिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आज जिल्लाको सुनकोशी नदीमा भ्रमणबर्ष २०२० को लोगो अंकित टीशर्टमाथि लाईफ ज्याकेट लगाएर सांसद बस्नेत जलसयरका लागि सुनकोसीमा उत्रिए। बस्नेत चढेको बोट अघि अघि, पछि पछि डेढ दर्जन बोटमा डेढ सय जना सुनकोसीमा सलल बगिरहेका थिए ।

जलयात्रा गर्दै पूर्वमन्त्री बस्नेतले भ्रमणबर्ष सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सवै लाग्नुपर्नेमा जोड दिँदै देशको आर्थिक उन्नतीको प्रमुख माध्यमको रुपमा पर्यटन क्षेत्र भएकाले आगामी दिनहरु नियमित रुपमा नेपाललाई भ्रमण वर्षकै रुपमा पर्यटक भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । समृद्ध नेपाल सुखी नेपालीको अभियानको मेरुदण्डको रुपमा पर्यटन रहेको उल्लेख गर्दै सांसद बस्नेतले भने, ‘भ्रमण बर्षलाई सफल बनाउन सवैजना आफ्नो ठाउँबाट जुट्नुपर्दछ, जलयात्राका लागि बढि भन्दा बढि पर्यटक भित्र्याउन लागौं ।’

सुनकोसी नदीले पर्यटकीय विकासको प्रचुर संभावना बोकेको भन्दै प्रदेश सांसद सुरेश नेपालले सामुहिक रुपमा जलयात्राको कार्यक्रम राखेर बलेफी गाउँपालिकाले सकारात्मक सन्देश दिएको उल्लेख गरे ।

गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले सुनकोसीमा जलयात्राका लागि पर्यटक तान्ने उदेस्यले बिशिष्ट ब्यक्ति, जनप्रतिनीधि र स्थानीयलाई जलयात्रा गराएर भ्रमण बर्षको स्वागत गरिएको बताए । स्थानीय क्लब तथा संस्थाको सहयोगमा बलेफी गाउँपालिकाले २ सय बढिलाई एकैसाथ जलयात्राको प्रवन्ध मिलाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस