नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : धादिङतर्फ मुआब्जा वितरणमा समस्या, काठमाण्डौतर्फ ९२ प्रतिशत सकियो

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ मंसिर १८, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

-सन्तोष सुवेदी

मंसिर १८,धादिङ । देशको राजधानी काठमाडौँ प्रबेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको मुआब्जा बितरणको काम भईरहेको नागढुङ्गा–सिस्नेखालाआयोजनाका प्रमुख श्याम प्रसाद खरेलले अनलाईन केन्द्र लाई बताए । काठमाण्डौ तर्फको मुआब्जा बितरणको काम करिव ९२ प्रतिशत सकिएको उनले बताएका छन । तर धादिङ तर्फ भने बितरणको काम सुस्त भएको उनको भनाई छ ।

धादिङ तर्फ धुनिबेशि नगरपालिका वडा नम्बर ९ मा पर्ने करिव ४४ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । अधिग्रहणका लागी अहिले प्रक्रिया जारी छ भने १५ जना जतिको मुआब्जा लगभग ४ करोड रकम स्वीकृत भईसकेको छ । ४४ रोपनी जग्गामध्ये करिव २८ रोपनी गुठिको नाममा रहेकाले गुठीको जग्गा उपभोग गर्दै आईरहेका प्रभावितलाई ऐन अनुसार एक तिहाई मुआब्जा उपलब्ध गराउने निर्णय भएको आयोजना प्रमुख खरेलको भनाई छ ।

मुआब्जा बितरणका लागी मालपोत कार्यालयमा लगत कट्टाको काम भईरहेको र उक्त काम सकिए लगत्तै मुआब्जा बितरणको कामले गति लिने र आयोजना निर्माणको काम पनि सुरु हुने उनले बताए । धादिङ तर्फ मुआब्जाका लागी ७ लाख देखि ९ लाख सम्म दिईने निर्णय भएकोमा प्रभावितको गुनासोका कारण सोहि रकममा १० प्रतिशत थप गरेर ७ लाख ७० हजार देखि ९ लाख ९० हजार सम्मको मुआब्जा निर्धारण भएको छ ।

यसैगरी गुठीको नाममा रहेको जग्गाको एक तिहाई मात्र रकम दिँदा प्रभावितहरुको घर बास नै उठ्ने र मुआब्जा स्वरुप आएको रकमले अन्यत्र घर, घडेरी समेत नआउने समस्याका कारण एक तिहाई भन्दा पनि ५० प्रतिशत मुआब्जा मोहिलाई उपलब्ध गराउने बिषयमा छलफल भईरहेको प्रमुख खरेलले बताए । गुठीको जग्गाको मुआब्जाको विषयमा मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म निर्णय हुन सकेको छैन । अन्य ब्यक्तिको जग्गाको मुआब्जाको विषयमा पनि स्पष्ट हुन सकेको छैन । स्थानीयले एकपछि अर्को माग राखिरहेका छन ।

मुलुकमा पहिलोपटक रणनीतिक महत्वका सडक सुरुङमार्गसंग जोडिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासासी साइगोले गत कार्तिक ५ गते काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म २.६८ किलोमिटर सुरुङ मार्गको संयुक्त रूपमा शिलान्यास गरे सँगै आयोजनाको काम तथा मुआब्जा बितरणको कामले तिब्रता पाएको हो ।

यो सुरुङमार्ग निर्माण गर्न जापानको अन्तर्रा्ष्ट्रिय सहायतासम्बन्धी नियोग (जाइका)ले १६ अर्ब ६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय भएको छ । नागढुंगा सुरुङमार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै सुरु भएपनि सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइनको काम थालिएको हो । ०.०१ प्रतिशत ब्याज दरमा उपलब्ध गराइएको ऋण नेपालले ४० वर्षमा तिर्नुपर्नेछ । पहिलो १० वर्षको ब्याज भने तिर्नु नपर्ने जापानी कम्पनीले जनाएको छ ।

गत असोज ६ गते जापानी कम्पनी र सडक विभागबीच ठेक्का सम्झौता भएको थियो । हाज्माआन्दो एन जेभिले यो ठेक्का साढे १३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्छ । सुरुङ मार्ग बनाउन १६ अर्ब र मुआब्जा वितरण गर्न ६ अर्ब रुपैयाँ खर्च हुनेछ ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार विष्फोटक पदार्थ प्रयोग गरेरै सुङमार्ग निर्माण हुनेछ । सुरुङ मार्ग बनाउन पाँच देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नागढुंगा सुरुङ मार्ग भने अष्ट्रेलियन प्रविधिबाट बन्नेछ । यस अन्तर्गत जम्बो ड्रिलिङ मेसिन पनि प्रयोग गरिन्छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबिसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी चार किलोमिटरले घट्नेछ । सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन् । जबकी हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ । नौबिसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्मा ४ डिग्री मात्र उकालो हुनेछ । यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्ने सडक विभागका अधिकारीहरु बताउँछन् । प्रतिगाडी दुई लिटरका दरले इन्धन बचत हुनेछ । हाल यो सडकमा दैनिक १० हजार गाडी ओहोरदोहोर गर्छन् ।

यो सुरुङमार्गले काठमाडौंलाई सहज रूपमा व्यापारिक नाकासँग जोड्न विकल्प प्रदान गरेको छ । सवारीको चापसँगै नागढुंगा कलंकी क्षेत्र सँधै जामले अस्तव्यस्त हुने गरेको छ । यो सडक खण्डको विकल्पको रूपमा सुरुङमार्गको सुरुवात भएको हो ।

सुरुङमार्ग यस्तो हुनेछ

काठमाडौंको नागढुंगा टुटिपाखा हुँदै सुरुङ मार्ग धादिङको सिस्ने खोलासम्म निर्माण गरिनेछ । त्रिभुवन राजपथबाट नागढुंगा टुटिपाखासम्म २.३ किमि र धादिङतर्फ धुनिबेसी सिस्नेखोला पाँच सय ६५ मिटर पक्की सडक निर्माण गरिनेछ । यो सुङमार्ग नागढुंगाको ठाडो उकालो सडक छल्न बनाउन लागिएको हो ।

उकालो सडक र सवारीको चाप धेरै हुने भएकाले भारतबाट आउने मालवाहक सवारी यो खण्डमा बिग्रिने गरेका छन् । सानो सडकमा ठूला गाडी बिग्रिँदा जामपनि बढ्दो क्रममा छ । सुरुङ मार्गले यो समस्या हल गर्ने आयोजनाको विश्वास छ । नयाँ बन्ने सुरुङमा सडकमार्ग दुई लेनको हुनेछ । एक लेन साढे तीन मिटरको हुनेछ । सडकको चौडाइ भने ९.५ मिटरको हुनेछ । यसमा १.५ मिटरको मेडियन र ०.५ मिटर सोल्डर पनि निर्माण गरिनेछ ।

स्थानीय सडकमा गुड्ने सवारीलाई सुरुङ सडकमा प्रवेश गर्न नदिन दुईवटा फ्लाइओभर पनि निर्माण गरिनेछ । सडकमा सात वटा पुल र ११ वटा बक्स कल्भर्ट पनि बनाइनेछ । सुरुङ मार्गमा मोटरसाइकल, ग्यास र पेट्रोलियम पदार्थ ओसारपसार गर्ने सवारी साधनप्रवेश गर्न पाउने छैनन् । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङ मार्ग अबको ४१ महिनापछि सम्पन्न हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस