“उपनिर्वाचनको पछिल्लो परिणमले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पुर्‍याएको छ”: वरिष्ठ नेता खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १८, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपनिर्वाचनको पछिल्लो परिणमले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको निष्कर्ष निकालेका छन् ।

प्रदेशसभा सदस्यका लागि भक्तपुर र धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत पाउन नसकेको बताउँदै यस्तो मत परिणामले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको खनालले बताएका हुन् ।

‘नेकपा एक नम्बर पार्टी हो । अहिले पनि एक नम्बरमा छँदै छ । तर भक्तपुर र धरानको मत परिणाम सोचेजस्तो आएन,’ खनालले भने, ‘तर, यतिलाई मात्र लिएर पार्टीले हारेको बुझ्नु हुँदैन, पार्टीसँग जनता असन्तुष्ट रहेको आंकलन गरिहाल्न हुँदैन, तर पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको छ ।’

नेकपाको गढ मानिएको भक्तपुर र धरानमा पार्टीले पराजय बेहोरेको विषयमा पार्टीले बैठक बोलाएर समीक्षा गर्नुपर्ने उनले बताए ।

उनले उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा आएको भए पनि धरान र भक्तपुरमा सन्तोषजनक अवस्था नदेखिएको प्रतिक्रिया दिए ।

‘अघिल्लो चुनावमा कांग्रेसले जितेका केही वडा हामीले जितेका छौं । गाउँपालिका पनि जित्यौं । तर भक्तपुर र धरानमा सोचेजस्तो भएन,’ खनालले भने ।

उनले यो उपनिर्वाचनले पार्टीको समग्र जीवन र राष्ट्रिय राजनीतिमा खासै प्रभाव नपार्ने भए पनि नेकपाप्रति जनताको धारणा बुझ्न सघाउ पुर्‍याएको बताए ।

नेकपाका विदेश मामिला उपप्रमुख विष्णु रिजालले पनि नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।

‘पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेद्वार चयन जस्ता कारणहरू आफ्नो ठाउँमा छन्, यस परिणामले हामीलाई थप सजग पक्कै बनाएको छ । समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, तर्कले होइन,’ रिजालले भनेका छन् ।

‘सरकारको आलोचना जनताले अस्वीकार गरेको स्पष्ट’

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको मत बढेको बताएका छन् ।

स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९ दशमलव ८५) स्थानमा विजय हासिल गरेको छ ।

‘एकताअघि दुई पार्टीले २८ स्थान (५३.८५) जितेको थियो । अहिले ३ सीट (५ दशमलव ८५) बढी हासिल भयो,’ थापाले उल्लेख गरेका छन् ।

यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको थापाको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस